झापा, वैशाख २६ (मे ८) । झापाको हल्दीबारीस्थित ढडुवा बजारमा विश्व रेडक्रस दिवसको अवसर पारेर दीप प्रज्वलन गरिएको छ। ढडुवा युवा क्लबको आयोजनामा बुधबार साँझ मानवता र सेवाको भावनालाई स्मरण गर्दै भव्य कार्यक्रम सम्पन्न भएको हो।
रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको जन्मदिनको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा स्थानीयवासी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रमको उद्घाटन हल्दीबारी गाउँपालिका–३ का वडा अध्यक्ष विष्णुप्रसाद ओलीले गरेका थिए।
सम्बोधनका क्रममा प्रमुख अतिथि ओलीले रेडक्रसको सात सिद्धान्त र यसको मूल मर्मलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए। “निस्वार्थ सेवा नै मानवताको कसी हो,” उनले भने, “युवापुस्ताले रेडक्रसको अभियानबाट प्रेरणा लिएर समाज रूपान्तरणमा लाग्नुपर्छ।”
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सदस्य कर्णखर प्रसाईं र हल्दीबारी गाउँपालिका तदर्थ समितिका अध्यक्ष रेमप्रसाद खरेलले रेडक्रस अभियानको ऐतिहासिक महत्त्वमाथि प्रकाश पारेका थिए। उनीहरूले सहानुभूति र मानवीय एकताले नै समाजलाई मजबुत बनाउने धारणा राखे।

ढडुवा युवा क्लबका संयोजक चिरन ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रममा जलथल प्रहरी चौकीका इन्चार्ज संजीव चौधरी, ढडुवा बजार व्यवस्थापन समितिकी उपाध्यक्ष तुलसा आचार्य, र शुभ प्रभात कृषि सहकारीका उपाध्यक्ष गोविन्द घिमिरे लगायतको सहभागिता थियो।

दीप प्रज्वलनका क्रममा सहभागीहरूले मैनबत्ती बाली विश्वभरका मानवतावादी अभियन्ताहरूप्रति सम्मान व्यक्त गरेका थिए। क्लबका सचिव अभिषेक खतिवडाले सञ्चालन गरेको कार्यक्रमले रेडक्रस दिवसको सन्देशलाई स्थानीय स्तरसम्म पुर्याउन सहयोग पुगेको आयोजकले जनाएको छ।

















