गान्तोक । भारतको सिक्किम राज्यमा १६ औँ ‘नोर्थइस्ट राइडर्स मिट’ आयोजना हुने भएको छ । सिक्किमको नाम्ची जिल्लामा आयोजना हुन लागेको उक्त बृहत् बाइकर्स भेलाको तयारीप्रति सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले खुसी व्यक्त गर्दै सहभागीहरूलाई स्वागत तथा शुभकामना दिएका छन् ।
मुख्यमन्त्री गोलेले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै यस पटकको राइडर्स मिटमा भारतको उत्तर-पूर्वी (नोर्थइस्ट) राज्यहरूका साथै छिमेकी मुलुक नेपाल, भुटान र अन्य विभिन्न देशहरूबाट ५ हजारभन्दा बढी राइडर्स (मोटरसाइकल चालक) हरूको सहभागिता रहने बताएका छन् ।
आयोजक ‘ओपन रोड वान्डरर्स मोटरसाइकल क्लब’ का प्रतिनिधिहरूसँगको भेटपछि मुख्यमन्त्री गोलेले भनेका छन्, “सिक्किमले यति ठूलो संख्यामा राइडर्सहरूलाई आतिथ्यता प्रदान गर्न लागेको थाहा पाउँदा मलाई निकै खुसी लागेको छ । म आयोजक क्लब र सम्पूर्ण सहभागीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
यस अन्तर्राष्ट्रिय स्तरको बाइकर्स भेलाले सिक्किमको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ । राइडर्सहरूको यो यात्राले सिक्किमको लोभलाग्दो प्राकृतिक सौन्दर्य, समृद्ध भू-दृश्य र रोमाञ्चक मोटरसाइकल मार्गहरूको अनुभव लिने तथा त्यसलाई नजिकबाट नियाल्ने एउटा सुनौलो अवसर प्रदान गर्ने मुख्यमन्त्री गोलेले उल्लेख गरे ।
हिमाली राज्य सिक्किम बाइक राइडर्स र साहसिक पर्यटनका लागि दक्षिण एसियामै आकर्षक गन्तव्यका रूपमा चिनिँदै आएको छ । यस वर्ष नाम्चीमा हुन लागेको यो भेलाले नेपाल र भारतका बाइकर्सहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

















