बिर्तामोड, १७ जेठ ।झापाको बिर्तामोडमा एक पुरुष रहस्यमय अवस्थामा मृत फेला परेका छन् । इलामको फाकफोकथुम गाउँपालिका–३ घर भई हाल बिर्तामोड नगरपालिका–१ बस्दै आएका ४५ वर्षीय राजकुमार थेगिम मृत फेला परेका हुन् ।प्रहरीका अनुसार थेगिम गत जेठ १५ गते बेलुका ८ बजेतिर घरमा कसैलाई केही नभनी हिँडेका थिए । घर नफर्किएपछि आफन्त र स्थानीयले उनको खोजी सुरु गरेका थिए ।
खोजीकै क्रममा १६ जेठ बेलुका पौने ९ बजे बिर्तामोड नगरपालिका–३ स्थित आदर्श चोक नजिकै सडकको छेउमा उनी लडिरहेको अवस्थामा फेला परेका थिए ।स्थानीयवासीले घाइते अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । उनको चिउँडोमा सामान्य चोट लागेको पाइएको छ । खबर पाउनासाथ प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले उनलाई उद्धार गरी उपचारका लागि बिर्तामोड नगर अस्पताल पठाएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले राति साढे ९ बजे उनलाई मृत घोषणा गरेका थिए ।मृतक थेगिम अत्यधिक मदिरा सेवन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक मेची अस्पताल पठाइएको छ । घटनाको प्रकृति र मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
















