कमला भट्टराई – हल्दिबारी न्यूज डेक्स , असार १६ । विराटनगरस्थित कोसी अस्पतालले कोरोना भाइरस सङ्क्रमितको उपचारमा खटाएका एक चिकित्सकको घरमा चोरी भएको छ । कोसी अस्पतालका मेडिकल अधिकृत डा.पुरनचन्द साहको घरमा चोरी भएको हो । विराटनगर महानगरपालिका–४ जामुनगाछीमा रहेको घरमा भएको चोरीको यकिन मिति पत्ता लाग्न सकेको छैन ।

डा.साह ११ दिनदेखि कोसी अस्पतालमै कोरोना सङ्क्रमितको उपचारमा खटिएका थिए । घरको मुल ढोकामा लगाएको ताला फुटाएर दराजभित्र राखिएका सुनचाँदी, नगद लगायत गरेर आठ लाख मूल्य बराबरको धनमाल चोरी भएको जानकारी डा.साहले दिए ।

उनी सङ्क्रमितको उपचारमा खटिँदा श्रीमती पनि एक साताअघि माइत गएकाले घरमा कोही थिएनन् । आफू सङ्क्रमितको उपचारमा रहेको र श्रीमती माइत गएकाले कोही नहुँदा ताला लगाएर छाडिएको घरमा चोरी भएको उनको भनाइ छ । घरको ताला फुटाएको देखेर छिमेकीले खबर गरेपछि घटनाका बारेमा थाहा पाएको डा.साहले बताए ।
एक सातादेखि घर खाली रहेकाले कहिले चोरी भयोभन्ने थाहा पाउन नसकेको जानकारी उनले दिएका छन् । डा.साहका अनुसार घरको दराजभित्र राखेको एमबीबीएस उत्तीर्ण गरेको प्रमाणपत्र पनि हराएको छ । उनले घटनाका बारेमा प्रहरीलाई जानकारी दिइसकेको बताए । कोरोना संङ्क्रमितको उपचारमा रहँदा चिकित्सकले दुई सातासम्म घर जान पाउँदैनन् ।