समाचार
हल्दिबारी संवाददाता २० मिनेट अगाडि

१४ वर्षीया बालिकामाथिको जघन्य अपराध र कुटपिटको भिडियो भाइरल: ससुरा र श्रीमान् पक्राउ

मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि भएको जबरजस्ती करणी र कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा पीडित बालिकाकै ससुरा र श्रीमान् रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङले मंसिर ९ गते प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विवरण सार्वजनिक गरेको हो। प्रहरीका अनुसार गत कात्तिक २९ गते राति कानेपोखरी गाउँपालिका–६ स्थित पीडितकै घरमा ५५ वर्षीय ससुरा जयराम दर्जीले १४ वर्षीया बुहारीमाथि जबरजस्ती करणी गरेका थिए। घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरीले दर्जीलाई तत्काल पक्राउ गरेको थियो। उनलाई मंसिर १ गते अदालतबाट म्याद थप गरी जबरजस्ती करणी कसुर मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

सोही घटनालाई लिएर प्रतिवादी जयराम दर्जीका २३ वर्षीय छोरा अर्थात् पीडितका श्रीमान्‌ले आमासमेतलाई छेउमा राखी पीडित बालिकालाई सोधपुछ गर्दै कुटपिट गरेका थिए। उनले कुटपिट गरेको उक्त भिडियो आफ्नै सामाजिक सञ्जालमा अपलोड गरेपछि घटना बाहिरिएको हो।

सामाजिक सञ्जालमा भिडियो सम्प्रेषण भएपछि गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले कुटपिट तथा भिडियो अपलोड गर्ने २३ वर्षीय युवालाई मंसिर ९ गते पक्राउ गरेको छ। उनीमाथि इलाका प्रहरी कार्यालय पथरीबाट विद्युतीय अपराध सम्बन्धी कसुर र बालविवाह सम्बन्धी कसुरसमेतमा थप अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकविरुद्ध हुने अपराधमा प्रहरीले शून्य सहनशीलताको नीतिलाई गम्भीरताका साथ अवलम्बन गरी कार्य गर्दै आएको बताउनुभएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)