कृषि
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सरकारी जागिरसँगै तरकारी खेतीबाट लाखौं कमाउँछन् हिमबहादुर

तेह्रथुम लालिगुराँस नगरपालिका–७ का हिमबहादुर थापा कृषि प्राविधिक हुन । छथर गाउँपालिकाको कृषि शाखाका कृषि प्रावधििक थापाले गाउँगाउँमा किसानहरूलाई कृषिसम्बन्धी सल्लाह र परामर्श दिने गरेका छन् ।

Advertisement

०६१ देखि विभिन्न संघसंस्थामा रहेर कृषिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका थापा आफैंले अर्गानिक रूपमा तरकारी खेती गर्दै आएका छन् । ६ वर्षदेखि नेपाल सरकारको करारको रूपमा जागिर गर्दै आएका उनी यतिबेला तरकारी खेतीमा सक्रिय छन् । बिदाको समयमा थापा आफ्नै तरकारी खेतीमा व्यस्त हुन्छन् ।

Advertisement

लसुने बजार नजिकै पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका थापाले अर्गानिक तरकारी उत्पादनलाई जोड दिँदै आएका छन । समुद्री सतहदेखि करिब २३ सय मिटर उचाइमा उनले नेचुरल हाइटेक निर्माण गरी अर्गानिक तरकारी खेती सुरु गरेका हुन् ।

कृषि प्राविधिकको रूपमा लामो समय काम गर्दै आएका थापाले आफूसँग भएको ज्ञान र सीपलाई व्यवहारमा प्रयोगमा ल्याएको बताए । ‘मसँग भएको दक्षता र क्षमतालाई प्रयोग गरी अर्गानिक रूपमा तरकारी खेती गर्दै आएको छु । मानव स्वास्थ्यका लागि स्वास्थकर हुनुको साथै बजारमा पनि राम्रो मूल्य पाउने भएकाले अर्गानिक तरकारी खेती गर्दै आएको छु,’ उनले भने ।

फिर्के साना किसान उघुउद्यम कृषि सरकारी संस्थामा आबद्ध थापाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञानकेन्द्र धनकुटामार्फत सहकारीको समन्वयमा पन्ध्र प्रतिशत आफ्नो लागनीमा दुई लाख १६ हजार लागनीमा हाइटेक निर्माण गरी खेतीलाई अझ विस्तार गर्दै आएका छन । उनले हाइटेकमा गोलभेडा, रायो, अकबरे, सयपत्री फूल, लसुनलगायतका तरकारी लगाएका छन्। हाइटेकमा बेमौसमी गोलभेंडा फलाउँदै आएका छन् ।
यस वर्ष एक सय ३० रुपैयाँ प्रतिकिलोसम्म गोलभेंडा बिक्री भएको थापाले बताए ।

उनकी श्रीमती सम्झनाले घरमै अनिस कृषि भण्डार सञ्चालन गर्दै आएकी छन् । घरमै रहेको कृषि भण्डारसँगै तरकारी खेतीमा पनि उनी सक्रिय छिन् । सम्झना भन्छिन्, ‘घरमै कृषि भण्डार सञ्चालन गर्दै आएकी छु । यो सँगै तरकारी खेती हाम्रो मुख्य आम्दानीको स्रोत हो । बजारमा घर भए पनि हामीले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छौं । तरकारी खेतीबाट वार्षिक तीन लाखसम्म आम्दानी लिँदै आएका छौं ।’ तेह्रथुममा पछिल्लो समय अन्नबालीभन्दा पनि नगदेबालीलाई किसानहरूले जोड दिँदै आएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article