काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलोग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले भारतको उत्तर प्रदेशका ३३ वर्षीय शिव कुमार चौहानलाई नियन्त्रणमा लिएको हो।
मिति २०८३ साल मङ्सिर १० गते हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने शङ्कास्पद व्यक्तिहरूको सूक्ष्म निगरानी (प्रोफाइलिङ) गर्ने क्रममा प्रहरीले उनलाई फेला पारेको थियो। बङ्गलादेशको ढाकाबाट बीजी–३७१ (BG-371) उडानमार्फत काठमाडौँ ओर्लिएका चौहानको गतिविधि शङ्कास्पद देखिएपछि प्रहरीले उनको झोला खानतलासी गरेको थियो।
जाँचका क्रममा उनले बोकेको झोलाभित्र रहेको एयर ड्रायर र कुकिज बिस्कुटको बट्टाभित्र अत्यन्तै चलाखीपूर्ण ढङ्गले लुकाइछिपाई राखिएको अवस्थामा चार किलोग्राम गाँजा फेला परेको ब्यूरोले जनाएको छ। प्रहरीले पक्राउ परेका चौहानको साथबाट चार किलोग्राम लागुऔषध गाँजाका साथै एक थान राहदानी (पासपोर्ट) र एक थान मोबाइल फोनसमेत बरामद गरेको छ।
बरामद गरिएको लागुऔषध र दशीका सामानसहित नियन्त्रणमा लिइएका चौहानमाथि लागुऔषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।