बन्दकर्ताले ललितपुरमा एउटा साझा बस तोडफोड गरेका छन् । नेत्र विक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले साझा बस तोडफोड गरेका हुन् ।

उनीहरुले बा५ख ८७५५ नम्बरको साझा बस इटिचोकस्थित महायान पेट्रोल पम्प नजिकै तोडफोड गरेका हुन् । बन्द गराउन खोज्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ । बन्दको बेलामा बस चलाएको भन्दै ढुंगामुढा गर्दा बसमा सामान्य क्षति पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सुशील सिंह राठौरले जानकारी दिए ।

यसैबीच सवारीसाधन जबरजस्ती बन्द गराउन खोज्ने ११५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए । उनका अनुसार काठमाडौंका दशलगायत देशभरबाट ११५ जनालाई पक्राउ गरिएको हो । काठमाडौंबाट २१ जना र ललितपुरबाट एकजना बन्दकर्तालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । उक्त समूहले पेट्रोलियम पदार्थलगायत मूल्य वृद्धि फिर्ताको दबाब दिन बन्द आह्वान गरेको बताएको छ ।