हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कठोर अग्निपरीक्षामा मुलुक र मुलुकी

– राजबाबु शंकर

करीब तीन दशकको अवधिमा पनि मुलुकमा राष्ट्रघाती, नितान्त स्वार्थी र लुटेराहरूकै रजगज छ । र, यत्रो लामो अवधिसम्म त्यस्ताकै अनुयायी बन्ने मतदाता र कार्यकर्ता पाएपछि नेपालका राजनीतिकर्मीहरू जे गरे पनि हुन्छ भनेर अहिलेसम्मै मतिभ्रष्ट र गतिछाडा बनिरहेका छन् ।

Advertisement

संसारमा अन्य विपन्न वा अति कम विकसित वा विकासोन्मुख राष्ट्रका बहुसंख्यक जनताले राष्ट्र र जनताको हित नगर्नेहरूको समर्थन गर्दैनन्, तर नेपालमा भने प्रजातन्त्रदेखि लोकतान्त्रिक गणतन्त्रसम्मको ३० वर्षे कालखण्ड नाघिसक्दा समेत उल्टो चक्का चलिरहेको छ !

Advertisement
नेपालमा २०४६/४७ सालसम्म दुई छाक राम्ररी खान नपाउनेमध्येका आफूलाई सर्वहाराका मसिहा भन्ठान्ने दर्जनौं नेताले बितेका यी दशकमा करोडौं-करोड सम्पत्ति कसरी जोडे ? त्यसपछि पनि जंगलबाट शहर पसेको अर्को तप्का समेत १२-१५ वर्षमै सयौं करोड बराबरको सम्पत्तिमा चलखेल गर्ने कसरी भयो ? यसको रहस्य थाहा नहुने कम छन्; तर अधिकांश मतदाताका लागि ‘जता हेऱ्यो उतै मेरो नजरमा राम प्यारा छन्’ भजनसरह स्थिति बहाल छ, अहिलेसम्मै !

दूरद्रष्टा राजनेता बीपी कोइरालाले २०३७ सालमा राष्ट्रिय जनमत संग्रहको परिणाम स्वीकार गर्दै भनेका थिए– ‘मैले परिणाम स्वीकार नगरेको भए नेपालमा गृहयुद्ध हुन्थ्यो ।’ त्यो बीपी.ले पार्टी वा स्वनेतृत्वको बचावमा भनेका थिएनन्, अपितु लगभग ४६ प्रतिशत मतदाता बहुदलीय व्यवस्थाका समर्थक रहेका बेला सर्वोच्च र सर्वमान्य नेताले परिणाम स्वीकार नगर्दा देशमा अराजकता बढ्ने सम्भावनालाई टार्नका निम्ति थियो । त्यस्तो बेलामा अझ आगो दन्काउँदै अराजकता मच्चाउने निहीत स्वार्थी तत्वहरू सक्रिय हुँदा देशको अस्मिता नै धरापमा पर्न सक्थ्यो । त्यसैले ‘राजतन्त्र र प्रजातन्त्र दुबै रहे मात्र राष्ट्रियता बलियो हुन्छ’ भन्ने मान्यतामा युगद्रष्टा राजनेता बीपी आजीवन अविचल रहेहुन् ।

त्यसपछि भने २०३९ सालमा बीपी कोइरालाको महाप्रयाणपछि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको कमाण्ड रहँदासम्म त कांग्रेस बहकिहाल्न पाएन । तर, जब गिरिजाप्रसाद कोइरालाको कमाण्डमा कांग्रेसको बिँडो अनेकन् छलबलले पुग्न गयो; तब कांग्रेसले आफूसँगै दुर्दिनको यात्रामा राष्ट्रलाई घचेट्ने यात्राको थालनी गऱ्यो । ‘कम्युनिष्टसँग सहकार्य गरेर राजा हटाउने कांग्रेससँग मेरो सहयात्रा हुँदैन’ भन्ने सन्त नेता कृष्णप्रसाद भट्टराईको वाणीलाई डस्टबिनमा हाल्ने जीपी.ले जीवनको उत्तरार्द्धमा आखिर कम्युनिष्टको गतिलो प्रतिदान त पाए नै- राष्ट्रपति बन्नबाट ‘गेटआउट’ गरिमागेर !

त्यति मात्रै नभएर पुराना सिद्धान्तवादी, त्यागी, समर्पित, इमानदार, सक्षम र देशभक्तहरूलाई अपमान गर्दै उग्र कम्युनिस्ट र बाह्य शक्तिका प्यादा बनिरहेकालाई कांग्रेसले शक्तिमा पुग्न र टिक्न जुन हदसम्म गिरेर सहकार्य गऱ्यो, त्यो उसैका निम्ति प्रत्युत्पादक बनेको त समयले सिद्ध गरिरहेकै छ । राष्ट्रियता प्रबल हुनुपर्छ भन्ने परम्परावादी शक्तिलाई वर्गशत्रु ठान्ने जीपी कोइरालापछिको कांग्रेस हाईकमाण्डको त्यही प्रत्युत्पादक सोचको परिणाम भुक्तान गर्दैछ अहिले कांग्रेस पार्टी ।

सँगसँगै देशका यिनै ठूला भनिएका पार्टीका आन्तरिक विवाद, कलह, षडयन्त्रलाई भकुण्डो बनाएर ‘ईष्ट इण्डिया कम्पनी’ शैलीमा खेल्दैछन्- विदेशी तत्वहरू । त्यसको पछिल्लो श्रृंखला एमसीसीको मुखुण्डोमा अवतरित हुन खोज्दै पनि छ । यस राजनीतिक विश्रृंखलतामा मूल भूमिका भनेको देशभित्रकै कैयौं गद्दार नेताहरूको रहँदै आएको जगजाहेर छ । यहाँ त भारतीय सेना ल्याएर राजा वीरेन्द्रलाई पाता कस्नुपर्छ भन्दा जननेता मदन भण्डारीको गाली खानेहरू जस्ता राष्ट्रका लागि घातक तत्वहरू मौजुद मात्रै होइन, झन विस्तारित छन् ! जो आफू बलियो हुन विदेशीको चरण स्पर्श गर्छन्; त्यस्ता राष्ट्रघातीहरू हरेक दल, शासकीय संयन्त्र, संस्था, समाज र क्षेत्रमा छन् । र, राष्ट्रवादी नजरले हेर्ने हो भने, ती राष्ट्रघातक लेण्डुप दोर्जेका संस्करणहरू हुन् ।

नेपालमा पटक-पटक राष्ट्रघात गर्नेहरूको सत्य-तथ्य बुझ्न असहज छैन । राष्ट्र सर्वोच्च हुन्छ भन्नेहरूलाई आँखा तर्नेहरू, कसिंगर ठान्नेहरू, दुश्मनी गर्नेहरू नै राष्ट्रघाती हुन् । त्यति टाढा पनि जानै पर्दैन, महाकाली सन्धिपछि लगातार राष्ट्रघात गर्नेहरू चिनेर त्यस्तालाई चिने पुग्छ र त्यस्तालाई चुनावबाटै बर्खास्त गरिदिए पुग्छ । २/२ ठाउँमा चुनाव हार्ने पात्र विदेशीको जालमा नेपालको प्रधानमन्त्री बन्दा २१ केजीको माला लगाइदिने दासहरूले राजनीतिमा रत्यौली खेल्न पाउञ्जेल राष्ट्रघातीहरू नाँचिरहन्छन् । अब देशभक्त युवाजनले ती राष्ट्रघातीका घरका भित्ता-भित्तामा ‘राष्ट्रघाती निवास’ लेख्न जरुरी भइसकेको छ । त्यस्ता राष्ट्रघातीलाई टोल-टोलमा मोसो दलेर, जुत्ताको माला लगाएर तेजोवध गर्ने हो भने ती भ्रष्ट, नितान्त स्वार्थी, लालची, बेकम्मा, गद्दार र विदेशीका दलाल राष्ट्रघातीहरू राजनीतिबाट डाँडा काट्थे होलान् कि ? त्यसो हुँदा नेपालको अन्तिम निर्णय नेपालीजनले नै गर्नुपर्ने समय घर्किन लागेको छ । त्यसैले पनि नेपाल आज इतिहासको सबैभन्दा कठोर अग्निपरीक्षामा छ । ‘जागौं, जागौं; अब त आलस्य परित्यागौं । राष्ट्रघाती र जनतामाराहरूको दोहोलो काड्न नेपालीमनका आम जन गोलबन्द बनौं ।’ घटना र विचारबाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)