काठमाडौं, २२ पुस ।सरकारले पुस २१ गते बुधबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई बढ्वा गर्ने निर्णयका साथै जापान सरकारबाट प्राप्त हुने जापानी येन १० बिलियन, करिव १० अर्ब ३९ करोड रुपैयाँ नीतिगत ऋण सहायता स्वीकार गर्ने, एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं संचार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी जानकारी दिए । यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मिति २०७८-९- २३ बाट लागू हुने गरी, मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा नियुक्त गर्ने निर्णय

आर्थिक वृद्धि तथा, उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन १० बिलियन, करिव १० अर्ब ३९ करोड रुपैयाँ नीतिगत ऋण सहायता स्वीकार गर्ने निर्णय

आर्थिक वर्ष २०७८, ७९ को लागि उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल पाँचसय २० रुपैयाँ निर्धारण गर्ने निर्णय
नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत वितरण केन्द्र र प्रशारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने, र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय
गृहमन्त्रालय लागुऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका शाखा प्रमुख जिल्ला अधिकारीहरुलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय
एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय
प्रहरी नवौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय
निजगढको कोहल्वी तेत्तिस केबी सबस्टेशन निर्माणका लागि २ विगाह जग्गा नेपाल विद्युत प्राधिकरणलाई लिजमा उपलब्ध गराउन स्वीकृत दिने निर्णय
दार्चुला जिल्लामा महाकाली नदीमाथि नेपाल भारत जोड्ने माटरेबुल पुल, निर्माणको समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृत प्रदान गर्ने निर्णय
राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदमा श्री सुरेन्द्र बस्नेत, दमक १, झापालाई नियुक्त गर्ने निर्णय
वन क्षेत्रमा कार्बन सञ्चितिको पहिचानसम्बन्धी अनुसन्धानका लागि रुख कटान गर्दा राष्ट्रिय प्राथमिकता प्राप्त र ठूला पूर्वाधार आयोजनाको क्षेत्रफल भित्र पर्ने रुख कटानलाई पहिलो प्राथमिकता दिनेगरि आवश्यक रुखहरू कटान, मुछान, गर्न र नमुनाहरु प्रयोगशालासम्म ल्याउन स्वीकृत प्रदान गर्ने निर्णय
नेपाल राजपत्रको नियमित अंक हप्ताको दुईपटक सोमवार र बिहीवार प्रकाशन गर्न स्वीकृत दिने निर्णय
गोरखापत्र संस्थानलाई गोदाम भवन निर्माण गर्नका लागि जग्गा प्राप्त गर्न स्वीकृत दिने निर्णय
राजपत्रांकित प्रथम श्रेणीका सहसचिव केष्णबहादुर राउतलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय
