काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको नेपाल स्थित भगिनि संस्था नेपाली रक्तदाता संघको तेस्रो साधारण सभा सम्पन्न भएको छ ।

संस्थाले “रक्तदान जीवनदान” भन्ने मूल नारा, भावना र विश्वासमा एकीकृत हुँदै मानवीय जीवनको सहयोग मार्फत सुकर्म, दया, भाव, भाइचारा र एकताको सम्बन्धलाई प्रगाढ पार्दै सामाजिक सद्भाव सहितको मूल्य मान्यता र योगदानमा आधारित युवा पंक्तिको निर्माण आजको आवस्यकता हो भन्ने भावनालाई आत्मसात गर्दै आईरहेको छ ।

बेलायतबाट नेपाल आइपुगेका अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका अभियानकर्ता तथा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ का उपाध्यक्ष एभरेष्ट गौतमको प्रमुख आतिथ्यतामा नेपाली रक्तदाता संघको तेस्रो साधारण सभा सम्पन्न भएको छ ।
संघका अध्यक्ष राहुल रेग्मीको सभापतित्वमा सम्पन्न उक्त तेस्रो साधारण सभाले आगामी कार्यकालका लागि पुनह राहुल रेग्मीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ׀
निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई प्रमुख आतिथि एभरेष्ट गौतमले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । उक्त साधारण सभाले संघको उपाध्यक्षमा कृष्ण देवकोटा र कल्पना खरेल, महासचिवमा उत्तम अधिकारी, सचिवमा रजनिश आचार्य, कोषाध्यक्षमा पुन्यवती पाठक र सदस्यहरुमा मुकुन्द भट्ट, दिपक केसी र शृजना रिजाललाई चयन गरेको छ ।
संघको तर्फबाट कोषाध्यक्ष उत्तम अधिकारीद्वारा प्रस्तुत कार्यप्रगति प्रतिबेदन पारित गर्दै भाबि कार्यदिशा निर्क्यौल गर्दै तेस्रो साधारण सभा सम्पन्न भएको हो ׀
प्रस्तुत प्रतिबेदन अनुसार संघले एकल तथा संयुक्त रक्तदान कार्यक्रम मार्फत १२८१ पिन्ट रगत संकलन गरेको र अस्पतालमा रहेका बिरामीलाई संस्था मार्फत बिभिन्न मितिमा अस्पतालमै गएर ६५२ पिन्ट रगत ९फ्रेस ब्लड० उपलब्ध गराएको छ ׀ त्यसैगरी संघले आगामी दिनमा अस्पतालमा उपचार गराईरहेका गम्भीर बिरामीले सहज रुपमा रगत प्राप्त गर्न नसक्ने परिस्थितिमा अस्पतालमै गएर फ्रेस ब्लड उपलब्ध गराउनका लागि संस्था मातहत एक “फ्रेस ब्लड युनिट” गठन गर्ने बिशेष प्रस्ताव पारित गरेको छ ׀