भद्रपुर ,झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको पहलमा नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय काठमाडौँले मेची अस्पतालमा जडान गरेको २ करोड ५० लाख मुल्य बराबरको ११० सिलिन्डर उत्पादन गर्ने क्षमता भएको अक्सिजन प्लान्टको आइतबार उद्घाटन गरिएको छ।

चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा. लोचन कार्की, महासचिव डा. बद्री रिजाल , अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोमनाथ पोर्तेल ,अस्पतालका मेसु टंक प्रसाद बारकोटी लगायतको उपस्थितिमा कांग्रेस नेता सिटौलाले अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन्।


चिकित्सक संघको पहलमा चुजी फाउन्डेसन ताइवानले मेचीलाई अक्सिजन प्लान्ट सहयोग गरेको सङ्घका केन्द्रीय अध्यक्ष डा.लोचन कार्कीले जानकारी दिएका छ्न । मेचीमा जडित अक्सिजन प्लान्टबाट एकै साथ धेरै सिलिन्डर उत्पादनका लागि बुस्टर जडान आवश्यक रहेको छ र छिटै त्यसको लागि आवश्यक पहलकदमी गर्न प्रदेश सरकार र स्थानीय सरकार संग लागि पर्ने नेता सिटौलाले उक्त अवसरमा बताए।

करिव ३० / ३५ लाख मुल्य बुस्टर जडान गर्न लाग्ने अस्पतालले जनाएको छ। मेची अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा .टङ्कप्रसाद बाह्रकोटीले अक्सिजन प्लान्टको बारेमा जानकारी दिएका थिए ।