दाङको घोराही कारागारबाट भागेका कैदी नाइके यमराज परियारलाई प्रहरीले पक्राउ गरेको छ। राजपुर गाउँपालिका–३ का ३० वर्षीय यमराज परियारलाई सोमबार पक्राउ गरि प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालको नेतृत्वमा खटिएको प्रहरी टोली, प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा र भारतीय सुरक्षाकर्मीको समन्वयमा उनलाई नेपाल भारतको सीमा क्षेत्र बाँके नेपालगन्ज–१५ जमुनाह नाका क्षेत्रबाट पक्राउ गरी दाङ ल्याइएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले फरार रहेका परियार लुकेर भारततर्फ जाने प्रयास गरेको भए पनि सूचनाका आधारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए। प्रहरीका अनुसार गत पुस ८ गते बिहान ११ बजे छालाको उपचार गर्न गएका उनी प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाइकल लिएर फरार भएका थिए।
कर्तव्य ज्यान मुद्दामा कैद सजाए पाएका परियार २०७२ असोज १६ गतेदेखि घोराही कारागारमा कैद भुक्तान गरिरहेका थिए। कारागारमा पहिले चौकीदार हुँदै नाइकेसमेत भएका परियारले त्यसैको फाइदा उठाएर केही व्यक्तिहरूलाई प्रलोभनमा पारेर कारागारबाट भाग्न सफल भएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ। थप अनुसन्धान जारी रहेको समेत एसपी काफ्लेले बताए।