झापा । नेपाल रेडक्रस सोसाइटीअन्तर्गत झापा र दमकका रक्त सञ्चार सेवा केन्द्रहरूबाट चालु आर्थिक वर्ष २०८३/८४ को मङ्सिर १० गतेसम्म ७ हजार ७२५ युनिट रगत सङ्कलन भएको छ । सोही अवधिमा ८ हजार ३८१ युनिट रगत बिरामीलाई उपलब्ध गराइएको रक्त सञ्चार सेवा केन्द्र झापाले जनाएको छ ।
केन्द्रका अनुसार मङ्सिर १० सम्म झापा रक्त सञ्चार सेवा केन्द्र (भद्रपुर) ले ५ हजार २४६ युनिट रगत सङ्कलन गरी ५ हजार ८८० युनिट रगत बिरामीलाई प्रदान गरेको छ । केन्द्रका इन्चार्ज शिशिर दाहालका अनुसार यस अवधिमा ६६० युनिट रक्ततत्वसमेत तयार गरी बिरामीलाई वितरण गरिएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको सोही अवधिमा दमक रक्त सञ्चार सेवा केन्द्रमार्फत २ हजार ४७९ युनिट रगत सङ्कलन र २ हजार ४८१ युनिट रगत बिरामीलाई उपलब्ध गराइएको दमक शाखाकी इन्चार्ज ओमा श्रेष्ठले रातोपाटीलाई जानकारी दिइन् ।
यसअघि गत आर्थिक वर्ष २०८२/८३ मा भद्रपुरस्थित रक्त सञ्चार सेवा केन्द्रले १४ हजार ८१९ युनिट रगत सङ्कलन गर्दा १६ हजार ३०९ युनिट रगत बिरामीलाई उपलब्ध गराएको थियो । इन्चार्ज दाहालका अनुसार गत आर्थिक वर्षमा १ हजार ५९१ युनिट रक्ततत्व तयार गरी बिरामीलाई प्रदान गरिएको थियो । सोही अवधिमा दमक रक्त सञ्चार सेवा केन्द्रमार्फत ७ हजार १२५ युनिट रगत सङ्कलन र ७ हजार ८६० युनिट रगत बिरामीलाई वितरण गरिएको तथ्याङ्क छ ।
हाल नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाअन्तर्गत भद्रपुर, चारपाने र बिएनसी मेडिकल कलेजमा रक्त सञ्चार सेवा सञ्चालन भइरहेको छ । त्यसैगरी दमक पालिका शाखाअन्तर्गत दमक, आम्दा अस्पताल र लाइफलाइन अस्पतालमा गरी जिल्लाभर कुल ६ वटा रक्त सञ्चार सेवा केन्द्रमार्फत नियमित सेवा प्रवाह भइरहेको छ
