काठमाडौं, २२ माघ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक माघ २७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्था र जिल्ला अधिवेशन हुन बाँकी जिल्लाका सम्बन्धनमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका जनाए । कांग्रेसमा आधा दर्जन बढि भ्रातृसंस्थाको कार्यकाल सकिएको छ भने १६ जिल्लामा पार्टीको जिल्ला अधिवेशन नै भएको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले दुई साताअघि कार्यसम्पादन गठन गरेका हुन् । ४६ सदस्यीय कार्यसम्पादन समितिमा १३ पदाधिकारीसहित ३७ जना सदस्य रहेका छन् । बाँकी सदस्य मनोनित गर्न बाँकी छ ।
केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेका बेला कार्यसम्पादन समितिले आवश्यक निर्णय गर्न सक्ने कांग्रेस विधानको व्यवस्था छ । कार्यसम्पादन समितिले गरेका निर्णयहरु भने केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्नेछ ।