समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कर्मचारी अभावमा सेवा प्रवाह प्रभावित

लमजुङ बेँसीसहर नगरपालिका वडा नं ७ मा रहेको राष्ट्रिय वाणिज्य बैंक बेँसीशहर शाखामा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या भएको छ । करिब चार महिनादेखि दरबन्दीअनुसार कर्मचारी नहुँदा दैनिक सेवा प्रवाहमा समस्या भइरहेको हो ।

Advertisement

पाँच मिनेटमा हुने कामसमेत कर्मचारी अभावका कारण सेवाग्राही घण्टाँै लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ । सेवाग्राहीलाई मात्र नभई सीमित सङ्ख्यामा रहेका कर्मचारीलाई समेत सेवा प्रवाहमा समस्या हुँदै आइरहेको छ । दरबन्दीअनुसार कर्मचारी नहुँदा दिनहुँ बढी समय कर्मचारी खटिनुपर्ने, बिहान ९ः३० बजेदेखि खटिएर बेलुका ७ः३० बजेसम्म पनि काम गर्नुपर्ने बाध्यता रहेको राष्ट्रिय वाणिज्य बैंक बेँसीसहर शाखा प्रबन्धक सोमनाथ पौडेलले बताए ।

Advertisement

यसरी काम गर्दा पनि छिटोछरितो सेवा प्रवाह गर्नलाई समस्या परिरहेको उनको भनाइ छ । उनले भने, “पहिला ५ बजेसम्म सबै काम सम्पन्न गर्न सक्थ्यौँ, तर अहिले शौचालय जान पनि फुर्सद छैन ।”

यहाँ दरबन्दीअनुसार १५ जना हुनुपर्ने भए पनि हाल पाँच जना मात्र कर्मचारी रहेका छन् । तीमध्ये शाखा प्रबन्धक पौडेलसहित सहायक प्रबन्धक रञ्जित लामा, कर्जा हेर्ने कर्जा इञ्चार्ज उपेन्द्रबहादुर विष्ट, नगद प्रबन्धक हरिमाया श्रेष्ठ र नगद सहायक सुमित्रा घिमिरे कार्यरत छन् ।त्यस्तै वरिष्ठ सहायक चार र सहायक छ गरी १० दरबन्दीअनुसारका कर्मचारी नभएको उक्त बैंकका शाखा प्रबन्धक पौडेलको भनाइ छ ।

त्यस्तै एक जना प्रशासन इञ्चार्ज हेमराज भण्डारी रहेका छन् । उनका अनुसार तीन कर्मचारी करारमा छन् । चार बैंकका गार्ड रहेका छन् । भइरहेका दरबन्दीका कर्मचारी केही अवकाश भएर, कोही विदेशमा गएकाले खाली रहेको र कर्मचारी अभाव भएकाले कर्मचारी सम्बन्धित निकायमा माग गरिसकेको शाखा प्रबन्धक पौडेलले बताए। उनले भने, “कोरोनाका कारण लोकसेवा पनि सञ्चालन नभएकाले दरबन्दीअनुसार कर्मचारी पाउन देशैभर मुश्किल भइरहेको भए पनि अब लोकसेवा दिएकाहरु आउनेछन् ।”

एउटा चेक साट्नका लागिसमेत लामो समय पर्खनुपर्दा सेवाग्राहीले समस्या भोग्नुपर्दा सेवाग्राहीले गुनासो गर्ने गरेका छन् । काम ढिलो हुँदा यहाँ सहर बजारबाट आएका नजिकका सेवाग्राहीलाई भन्दा अझै बढी बढी दुर्गम ठाउँबाट आएका सेवाग्राही पनि मर्कामा पर्दै आएका छन् । अझै केही दिनदेखि बैंकमा कामको चाप बढ्दा थप सेवा प्रवाह प्रभावित हुने बताइएको छ । रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article