समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

रेडक्रस : ‘गुहार गुहार’ भन्दै केही गाउँले चिच्याएपछि !

सुरुंगा, २३ जेठ । ‘गुहार गुहार’ भन्दै केही गाउँले चिच्याएपछि गाउँका अरुहरुले जिल्लाका सीडीओलाई फोन गरी शिवसताक्षी नगरको वडा नं. ९ को सुकुम्बासी बस्तीमा बाढी पसेको जानकारी दिए ।

Advertisement

ती व्यक्तिले सीडीओलाई यसरी सुनाउँदै थिए–‘गाउँमा बाढी पसेर डुबाइसकेको छ । हामी केही व्यक्तिहरु घरको छतबाट गुहार मागिरहेका छौं । केहीलाई खोलाले बगाउँदैछ । सर, हामीलाई तुरुन्तै बचाउनु पर्यो ।’

Advertisement

प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले तत्कालै सुरक्षा निकायसहितको बैठक बसेर उद्धारमा खटिन निर्देशन दिए ।नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसको टोलीले तत्कालै बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धारको कार्य सुरु गर्यो । जसका कारण कयौलाई जीवितै उद्धार गरियो ।

आपतकालीन उद्धार क्रममा सुरक्षाकर्मीले बाँसको चाङ, केराको थाम, प्लास्टिकका बोतल आदिको डुंगा बनाएर प्रयोग गरेका थिए ।हस्याङ् फस्याङ् गर्दै उद्धारकर्मीहरुले गाउँलेहरुलाई बाढीबाट जोगाए । त्यसपछि तिनको उपचार र बासको व्यवस्थापन गरियो । खानेकुरा र लत्ताकपडा सबै बाढीले बगाएका कारण उनीहरुलाई राहत वितरण गरियो ।

माथि वर्णन गरिएको दृश्य सोमवारको हो । कनकाई वडा नं. २ स्थित जामुनखाडी सिमसारको पोखरीमा विपद् व्यवस्थापन सम्बन्धी अभ्यासको क्रममा बाढी आएको, पीडितले गुहार मागेको, उद्धार गरिएको, सुरक्षाकर्मी परिचालन भएको र राहत वितरण गरिएको घटना देखाइएको थियो । तर ती सबै वास्तविक थिएनन् । कृत्रिम घटना थिए अभ्यासका लागि ।

झापा बाढीका कारण वर्षेनी धेरै जनधनको क्षति हुने जिल्लामा पर्दछ । कनकाई, बिरिङ, कमल, मेची, निन्दा लगायतका नदीले बर्खाका बेला वितण्डा मच्चाउने गरेका छन् ।त्यही विपद्का बेला कसरी उद्धारको काम गर्ने भनेर सुरक्षाकर्मीसहित सरोकारवालाले जामुनखाडी सिमसारको पोखरीमा कृत्रिम अभ्यास गरिएको झापाका सहायक प्रजिअ रुद्रप्रसाद न्यौपानेले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा भएको अभ्यासमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।जिल्लास्थित सरकारी अड्डाका प्रमुखहरु र सुरक्षा निकायका प्रमुखको पनि सो अवसरमा सहभागिता थियो ।

‘मेरो पालिकामा बाढी पसेजस्तै लाग्यो,’ शिवसताक्षी नगरपालिकाका प्रमुख थोप्राले भने–‘कृत्रिम अभ्यास भए तापनि यहाँ हेर्दा साँच्चिकै घटना जस्तै भयो, म त झसङ्गै भएँ ।’ उनले नगरपालिकाले विपद् व्यवस्थापनमा पर्याप्त बजेट छुट्याउने बचनबद्धता व्यक्त गरे ।

नेपाली सेनाका कर्णेल सुदर्शन थापा, सशस्त्र प्रहरीका एसपी प्रदिपजंग कार्की, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विश्वमणि पोखरेल, नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल लगायतको अभ्यास कार्यक्रममा उपस्थिति थियो ।प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले विपद्का बेला गर्नुपर्ने उद्धार र राहतका लागि अभ्यास उपयोगी हुने बताए ।लोकतन्त्र पोस्टबाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article