हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सडक कालोपत्रे गुणस्तरीय नभएको भन्दै स्थानीयले रोके कालोपत्रेको काम

रेसुङ्गा -सडक कालोपत्रे गुणस्तरीय नभएको भन्दै स्थानीयले काम रोकेका छन् । गुल्मीको सदरमुकाम तम्घासबाट रेसुङ्गा जाने सडक कालोपत्रे गर्ने क्रममा कम गुणस्तरको भएको दाबी गर्दै स्थानीयले काम रोकेका हुन् ।

Advertisement

तम्घास–रेसुङ्गा सडकमा दुवैतर्फबाट आवतजावत पूर्णरुपमा बन्द गरी निर्माण व्यवसायीले कालोपत्रे गरिरहेका थिए । तर स्थानीयले भने सम्झौता अनुसार काम नगरेको भन्दै रोक लगाइएको स्थानीय प्रकाश भलामीले बताउनुभयो ।

Advertisement

“मापदण्डअनुसार काम भएको छैन”, उहाँले भन्नुभयो, “कालोपत्रे उप्किएर गिट्टी माटो देखिन्छ ।” उहाँले आफूहरु निर्माणस्थलमै पुगेर काम रोकेको र गुणस्तरीय काम गर्ने सम्झौता भएपछि मात्रै काम सुरु गर्न दिने उहाँले बताउनुभयो ।

स्थानीय नीरज मरासिनीले व्यवसायीले दुवैतर्फको आवतजावत ठप्प गरी काम गर्नु स्वार्थपूर्ण भएको दाबी गर्नुभयो । “एकतर्फी खुल्ला राख्दै पालैपालो सडक निर्माण गर्नुपर्ने हो तर कमसल सडक निर्माण गर्ने नियतले दुवैतर्फ सडक बन्द गरेको देखिन्छ”, उहाँले भन्नुभयो, “सम्झौताअनुसार गुणस्तरीय काम हुने सुनिश्चित भएपछि मात्रै काम सुरु हुन्छ ।”

तम्घास–रेसुङ्गा नामाकरण भई विसं २०७४ असार ३० गते सडक पूर्वाधार विकास कार्यालय गुल्मी र आशीष शेर्पा रामेछाप जेभीअन्तर्गत रामेछाप शेर्पा कन्ट्रक्सन प्रालिबीच निर्माणको सम्झौता भएको थियो ।

सडक पूर्वाधार विकास कार्यालय तम्घासका प्रमुख इन्जिनियर सचितानन्द चौधरीका अनुसार आयोजनाको अवधि पछिल्लो पटक म्याद थप गरी आगामी जेठमा पु¥याइएको छ भने यसका लागि कूल रु १७ करोड १८ लाखमा सम्झौता भएको छ । कालोपत्रे गुणस्तरीय भए वा नभएको विषयमा आफूहरुले अनुगमन गर्ने उहाँको भनाइ छ । “विवादले काम रोकिएका कारण अब सर्वपक्षीय छलफल हुन्छ”, उहाँले भन्नुभयो, “सम्झौताअनुसारको काम हुन्छ, लामो समयसम्म काम रोकिन्न ।”

निर्माण व्यवसायी बीरेन्द्र भुसालले भने आफूहरुले सम्झौता अनुसार नै काम गरिरहेको दाबी गर्नुभयो । उहाँले ८० प्रतिशत काम सकिएको भन्दै रु १३ करोड ५२ लाख भुक्तानी लिई सक्नुभएको बताउनुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)