समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

दमौली ( तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित मुकुन्देश्वरी क्षेत्र उत्खननका लागि बन्दीपुर गाउँपालिकाले पहल थालेको छ । ऐतिहासिक महत्व बोकेको उक्त ठाउँलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ गाउँपालिकाले मुकुन्देश्वरी डाँडामा उत्खननका लागि सम्भाव्यता अध्ययन शुरु गरेको हो । पुरातात्विक विभागको सहकार्यमा मुकुन्देश्वरी डाँडाको संरक्षण र उत्खननका लागि सम्भाव्यता अध्ययन थालिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

Advertisement

उक्त ठाउँको सम्भाव्यता अध्ययनका लागि विभागका मन्जुसिं भण्डारीको नेतृत्वमा टोली आइपुगेको छ । टोलीले आइतबार त्यस क्षेत्रको स्थलगत अवलोकन गर्दै तथ्याङ्क सङ्कलन र सर्भे गर्ने काम शुरुआत गरेको उहाँले जानकारी दिनुभयो ।

Advertisement

“मुकुन्द सेन राजाले शासन गरेको यस ठाउँको महत्वलाई प्रचारप्रसार गर्न र संरक्षणका लागि उत्खनन गर्ने कामको थालनी गरेका हौँ”, अध्यक्ष थापाले भन्नुभयो । विभागको टोलीले बन्दीपुर गाउँपालिका–५ स्थित चन्द्रकोट र हुस्लाङकोटको पनि स्थलगत अध्ययन गर्नेछ । गाउँपालिकाले चन्द्रकोटमा गढी निर्माण गरिसकेको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यस क्षेत्रको प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक यस ठाउँमा भित्र्याउने गाउँपालिकाको योजना छ । “बन्दीपुर गण्डकी प्रदेशको राजधानी पोखरापछिको दोस्रो पर्यटकीय गन्तव्य हो, यहाँ आउने पर्यटकलाई भुलाइ राख्नका लागि नयाँ–नयाँ गन्तव्य पहिचान गर्न लागिएको छ”, उहाँले भन्नुभयो, “त्यसकै लागि मुकुन्देश्वरी क्षेत्रको उत्खननको प्रयास थालेका हौँ ।”

मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । यस ठाउँमा मुकुन्देश्वरी मन्दिर पनि छ । गाउँपालिकाले मुुकुन्देश्वरी डाँडाको प्रचारप्रसारका लागि पदमार्ग पर्खाल निर्माणको कामलाई समेत तीव्रता दिएको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माण भइरहेको छ ।

बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । गत आर्थिक वर्षमा रु दश लाखको लागतमा ३०० मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको र चालु आवमा रु ६० लाखको लागतमा एक हजार ३०० मिटर पदमार्ग पर्खाल निर्माण गरिनेछ ।

करिब तीन किलोमिटर दूरी रहने उक्त पदमार्ग पर्खाल निर्माणका लागि करिब रु दुई करोड बजेट अनुमानित गरिएको छ । मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ । “पदमार्ग पर्खालले राजा मुकुन्द सेन बसेको ठाउँको प्रचारसँगै बन्दीपुरको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने विश्वास गरेका छौँ”, अध्यक्ष थापाले भन्नुभयो ।रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article