विराटनगर, फागुन ११ । विराटनगरमा मादक पदार्थ सेवन (मापसे) गरी स्कुटर चलाउँदा दुर्घटना भई एक जनाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–७ का वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले चलाएको को २९ प ७०८२ नम्बरको स्कुटर सडकमा रोकिराखिएको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार, शुक्रबार राति ९:२० बजे हाटखोलास्थित भित्री सडकमा पार्क गरिएको बागमती प्रदेश ०३–००१ ख १७१२ नम्बरको ट्रकमा स्कुटर ठोक्किएको थियो।

दुर्घटनामा वडा सदस्य लामिछाने र स्कुटरमा पछाडि सवार ५० वर्षीय किरण तिवारी घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार बिहान ६:३५ बजे तिवारीको मृत्यु भएको डीएसपी जोशीले जानकारी दिए।
स्वास्थ्य परीक्षणका क्रममा लामिछानेले मापसे गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। प्रहरीले स्कुटर, ट्रक, र ट्रकका चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान सुरु गरेको छ।