समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

एम्बुलेन्स खरिद काण्ड : मेयर बालेनसहित विरुद्ध छानबिनको माग

काठमाडौं, २५ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को प्रत्यक्ष संलग्नतामा एम्बुलेन्स खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

Advertisement

सी–०४०५६९ दर्ता नम्बरमा दर्ता गरिएको उजुरीमा मेयर बालेनसँगै उनका स्वकीय सचिव भुपदेव साह, खरिद प्रक्रियामा संलग्न कर्मचारीहरू तथा मूल्याङ्कन समितिका सदस्यहरूलाई कारबाही गर्न माग गरिएको छ। उजुरीमा भनिएको छ, “बालेन शाहको निर्देशनमा भुपदेव साहको नेतृत्वमा पश्चिम नेपालका पालिकालाई एम्बुलेन्स वितरण गर्ने कार्यक्रम ल्याइयो, जुन योजनामा प्रारम्भिक चरणमै भ्रष्टाचारको नियत देखिन्छ।”

Advertisement

भ्रष्टाचारको आरोपअनुसार, एम्बुलेन्स आपूर्ति गर्ने बोलपत्रदाता गाडी कम्पनीसँग साहले घुसस्वरूप २१ मोडलको स्कर्पियो गाडी लिने सहमति गरेका थिए र खरिद प्रक्रिया पनि सोहीअनुसार अघि बढाइएको उजुरीमा उल्लेख छ। बोलपत्र दस्तावेजअनुसार सामान आएपछि मात्र भुक्तानी हुने प्रावधान हुँदाहुँदै पनि, कम्पनीले सुरुमै भुक्तानीको सर्त राख्दा पनि महानगरले त्यसलाई स्वीकार गरेर खरिद ऐन, २०६३ को दफा ५२(क) उल्लङ्घन गरेको दाबी गरिएको छ।

यसबाहेक, ललितपुर महानगरबाट काठमाडौं सरुवा गरिएका रामरतन शाहलाई खरिद इकाइ प्रमुख बनाउने क्रममा ठेकेदारहरूले तत्कालीन प्रशासकीय अधिकृत प्रदीप परियारलाई घुस दिएको र शाहले गाडी घुसस्वरूप लिने शर्तमा मूल्याङ्कन प्रक्रिया फेरि दोहोर्‍याएर एक करोड २५ लाख रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएको आरोप उजुरीमा उल्लेख छ।

उजुरीकर्ताले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(क) र ९ बमोजिम दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। साथै, मूल्याङ्कन समितिमा बसेका सदस्यहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन जोडदार माग गरिएको छ।

गौरतलब छ, आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत काठमाडौं महानगरले ३५ वटा एम्बुलेन्स खरिद गरी विभिन्न गाउँपालिकाहरुलाई वितरण गर्ने योजना सार्वजनिक गरेको थियो। अहिले सोही योजना विवादको घेरामा आएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article