समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बिर्तामोड भाटभटेनीको पार्किङमा राखेको मोटरसाइकल हरायो, पीडितको गुनासो– ‘जिम्मेवार को?’

झापा, बिर्तामोड । झापाको बिर्तामोडस्थित भाटभटेनी सुपरमार्केटको अण्डरग्राउण्ड पार्किङबाट एक युवकको मोटरसाइकल चोरी भएको छ। अर्जुनधारा नगरपालिका–६ निवासी बबिन न्यौपानेको पल्सर २२० सीसी मोटरसाइकल गत चैत २५ गते चोरी भएको हो।

Advertisement

किनमेलका लागि उक्त दिन अपराह्न ४ बजेर ७ मिनेटमा मोटरसाइकल पार्किङमा राखेका न्यौपानेको सवारी ४ः३२ बजे चोरी भएको सीसी क्यामेराको फुटेजमा देखिएको छ। फुटेजमा क्याप र मास्क लगाएको एक व्यक्ति मोटरसाइकल लिएर निस्कँदै गरेको स्पष्ट देखिन्छ।

Advertisement

“बाहिरबाट चोरी भएको भए अचम्म मान्दिनँथें, तर अण्डरग्राउण्ड पार्किङबाटै चोरी हुँदा विश्वास गर्न गाह्रो भयो,” न्यौपानेले भने।

चोरीको घटनापछि न्यौपानेले भाटभटेनी पक्षले जिम्मेवारी लिनुपर्ने माग गरेका छन्। तर, सुपरमार्केट व्यवस्थापनले पार्किङ स्थल मात्र उपलब्ध गराएको भन्दै चोरीप्रति आफ्नो कुनै जिम्मेवारी नहुने स्पष्ट पारेको छ।

स्टोर म्यानेजर लक्ष्मी गुरुङले भनिन्, “पार्किङको लागि मात्र स्थान उपलब्ध गराइएको हो। ग्राहकले आफ्नो साधनको सुरक्षा आफैं गर्नुपर्छ भन्ने सूचना पनि राखिएको छ।” तर, घटनासम्बन्धी आवश्यक फुटेज, सूचना र प्रहरीसँगको समन्वयमा भने सहयोग गर्ने प्रतिबद्धता उनले जनाएकी छन्।

चोरी भएको मोटरसाइकल प्रदेश १–०१–०१४प–७१५७ नम्बरको थियो। पीडित न्यौपानेले इलाका प्रहरी कार्यालय अनारमनीमा घटनाबारे उजुरी दिइसकेका छन् र अनुसन्धान कार्य अघि बढिरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article