समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

शनिबार र आइतबार देशभर २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

झापा, वैशाख ५ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शनिबार र आइतबार (वैशाख ७ र ८ गते) देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको छ। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत सञ्चालन हुने यो अभियानमा ६ महिना देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ।

Advertisement

स्वास्थ्य सेवा विभागका अनुसार सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि समेत खुवाइनेछ। साथै, बालभिटा वितरण तथा बालबालिकामा कुपोषण परीक्षण पनि गरिने जनाइएको छ।

Advertisement

कार्यक्रमलाई सफल बनाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ।

सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका लागि २०५० सालमा आठ जिल्लाबाट सुरु गरेको यो कार्यक्रम २०५९ सालदेखि देशभर लागू गरिएको हो। त्यसैगरी, जुकाको औषधि खुवाउने कार्यक्रम २०५६ सालमा १३ जिल्लाबाट सुरु भई २०६७ देखि सबै जिल्लामा विस्तार गरिएको हो। बालभिटा खुवाउने अभियान भने २०६४ सालदेखि सञ्चालनमा ल्याइएको हो।

सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाख महिनामा भिटामिन ‘ए’ तथा जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था गर्दै आएको छ।

स्वास्थ्य मन्त्रालयले बालबालिकाको पोषण सुधार र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न यो कार्यक्रमलाई अत्यन्तै प्रभावकारी मानेको छ। मन्त्रालयले सम्पूर्ण अभिभावकहरूलाई आफ्नो बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन नछुटाउन आग्रह गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article