समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

तरकारी बजारमा बिक्रीका लागि ल्याइएका भाजी र माटेसागमा विषादीको मात्रा फेला

नेपालगञ्ज, बैशाख ५  । नेपालगञ्जको रानीतलाउस्थित तरकारी बजारमा बिक्रीका लागि ल्याइएका भाजी र माटेसागमा स्वास्थ्यलाई हानिकारक हुने गरी अत्यधिक विषादीको मात्रा फेला परेको छ। कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले परीक्षणपछि यस्तो जानकारी दिएको हो।

Advertisement

प्रयोगशालाका नायब प्राविधिक सहायक गौरव चौधरीका अनुसार, चैत महिनामा बजारबाट सङ्कलन गरिएको भाजीको एक र माटेसागको दुई नमूनामा ‘रेड लेबल’ अर्थात उपभोग गर्न नमिल्ने स्तरको विषादीको मात्रा भेटिएको हो। ती सागहरू बाँकेको हिरमिनिया क्षेत्रबाट उत्पादन भई रानीतलाउ बजारमा ल्याइएका थिए।

Advertisement

चौधरीले भने, “एक सय किसानमध्ये ९८ प्रतिशतको उत्पादन गुणस्तरीय देखिन्छ, तर दुई प्रतिशत किसानका तरकारीजन्य वस्तुमा अझै पनि विषादीको मात्रा अत्यधिक पाइएको छ। रानीतलाउबाट लिइएका अधिकांश नमूना परीक्षणमा सुरक्षित देखिए पनि तीनवटा सागमा भने अत्यधिक विषादी देखिएको हो।”

प्रयोगशालामा नेपालका विभिन्न जिल्ला तथा भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण हुने गर्दछ। चौधरीका अनुसार, परीक्षणको नतिजा एकदेखि डेढ घण्टाभित्रै उपलब्ध हुन्छ।

प्रयोगशालाका मापदण्डअनुसार, ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत भएका वस्तु ‘हरियो (ग्रीन लेबल)’ का रूपमा सुरक्षित मानिन्छन्। ३५–४५ प्रतिशत निषेध प्रतिशत भएका वस्तु ‘यल्लो लेबल’ भित्र पर्छन् र पुनः परीक्षणपछि मात्र उपभोग योग्य ठहरिन्छन्। तर ४५ प्रतिशतभन्दा माथि निषेध प्रतिशत भेटिएमा ती वस्तु ‘रेड लेबल’ अन्तर्गत पर्छन् र उपभोग गर्न नमिल्ने मानिन्छ।

तरकारी बजार सञ्चालक समिति अध्यक्ष मोतिसरा थापा क्षेत्रीले विषादीयुक्त तरकारी तथा फलफूल भेटिएमा बजारमै नष्ट गरिने कार्य हुँदै आएको जानकारी दिए। उनले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै बजारमा निरन्तर निगरानी गरिएको पनि उल्लेख गरे।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article