समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कचनकवल गाउँपालिकाले दियो साउण्ड सिस्टम, तर दृष्टिविहीन जेठा मुर्मुको मन जित्न सकेन

झापा । झापाको सडकहरूमा गाउँ गीत गाउँदै हिँड्ने दृष्टिविहीन जेठा मुर्मुलाई मंगलवार कचनकवल गाउँपालिकाको परिसरमा एक थान साउण्ड सिस्टम प्रदान गरिएको छ। साउण्ड सिस्टम करुणा फाउन्डेसन नेपाल, कचनकवल गाउँपालिका र सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालन गरिएको अपाङ्गता रोकथाम तथा पुनर्स्थापन कार्यक्रम अन्तर्गत प्रदान गरिएको हो।

Advertisement

गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुनिता दाहाल तथा करुणा फाउन्डेसन पालिका संयोजक अञ्जना लामिछानेको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

Advertisement

सडकमा गीत गाएर जीवन यापन गर्दै आएका मुर्मुले साउण्ड सिस्टम प्राप्त गरेपछि दुई वटा गीत गाएर भद्रपुर फर्किएका थिए। उनले ‘रितुहरूमा तिमी’ र ‘आँखा छोपी नरोऊ’ गीत गाएका थिए।

तर, सामग्री प्राप्त गरेपछि चित्त नबुझेको भन्दै मुर्मु दुःखी मन लिएर फर्किएका छन्। उनले आफूले सोचे जस्तो गुणस्तरीय उपकरण नपाएको भन्दै साउण्ड सिस्टम छोडेर नै फर्किएको जानकारी दिए। उनका अनुसार साउण्ड सिस्टमको रिमोट राम्रोसँग चलेन, माइक्रोफोन पनि एक थान मात्र थियो, र स्पिकर सामान्य खालको थियो।

जेठा मुर्मु १७ वर्षदेखि सडकमा गीत गाएर गुजारा चलाइरहेका छन्। उनी कचनकवल गाउँपालिका-२ निवासी हुन्। आफ्नै पालिकाबाट सहयोग पाइने खबरले आशावादी बनेका मुर्मुलाई अपेक्षाअनुसारको सामग्री नपाउँदा निराश बनायो।

करुणा फाउन्डेसनका प्रतिनिधि र दृष्टिविहीन अगुवा दिलकुमार राजवंशीलाई साउण्ड सिस्टम जिम्मा लगाएर मुर्मु फर्किएको जनाइएको छ। यस घटनाले दृष्टिविहीन कलाकारप्रतिको संवेदनशीलता, सम्मान र आवश्यक उपकरणको गुणस्तरप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article