समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

एकीकरण कार्यक्रमकै दिन रेशम चौधरी पक्राउ, जनमत–नाउपा एकता स्थगित

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। बुधबार जनमत पार्टीसँगको पार्टी एकीकरण कार्यक्रम हुनुअघि नै प्रहरीले उनलाई काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनबाट पक्राउ गरेको हो।

Advertisement

जनमत पार्टी र नाउपाबीच पार्टी एकता घोषणा कार्यक्रमको तयारी भइरहँदा चौधरीलाई सोही स्थानबाट नियन्त्रणमा लिइएको जनाइएको छ। हाल उनलाई डिल्लीबजार कारागारमा राखिएको जनमत पार्टीका अध्यक्ष सीके राउतले बताएका छन्।

Advertisement

‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै गर्दा नेपाल प्रहरीले रेशमलाल चौधरीलाई कार्यक्रमस्थलबाटै पक्राउ गरी पुरानो फैसला कार्यान्वयनका लागि डिल्लीबजार जेल पठाएको जानकारी प्राप्त भएको छ,’ अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेखेका छन्। उनले चौधरीको पक्राउको घोर भर्त्सना गर्दै त्यसकै कारण एकीकरण कार्यक्रम स्थगित गरिएको जानकारी गराएका छन्। साथै उनले सम्पूर्ण नेता तथा कार्यकर्तालाई घर फर्कन आग्रह गरेका छन् र अर्को सूचना चाँडै दिने उल्लेख गरेका छन्।

२०७२ भदौमा भएको टीकापुर घटनाको आरोपमा चौधरीलाई जन्मकैदको सजाय सुनाइएको थियो। तर, २०८० सालको गणतन्त्र दिवसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा उनलाई आममाफी दिएकी थिइन्। चौधरी त्यसपछिका दिनहरूमा सक्रिय राजनीतिमा फर्किएका थिए।

रिहाइपछि भने टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी इन्स्पेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले चौधरीको रिहाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। त्यसैसन्दर्भमा चौधरी पुनः पक्राउमा परेका हुन् भन्ने अनुमान गरिएको छ। पार्टी एकता प्रक्रियाको भविष्य अब अन्योलमा परेको देखिन्छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article