समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

श्रीमतीको हत्या योजना बनाएका चुडामणि आफै मारिए, प्रहरी अनुसन्धानले उघार्यो रहस्य

धादिङ । धादिङको गजुरी गाउँपालिका–२ डुँडेठाटीस्थित एक घरको भुइँतलामा रहेको एटेच ट्वाइलेटमा २०८१ साल चैत २७ गतेको बिहान ६० वर्षीय चुडामणि कँडेलको शव डोरीले घाँटी बेरिएको अवस्थामा भेटिएको थियो। सुरुमा आत्महत्या जस्तो देखिएको घटनाले प्रहरी अनुसन्धानसँगै अपराधको गहिरो रहस्य खुलाउँदै लग्यो।

Advertisement

घटनाको जानकारी पाएपछि धादिङ प्रहरी प्रमुख एसपी दीपेन्द्र शाही, गजुरी इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी विकास थापा, चिकित्सक टोली र तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अवस्था हेर्दा आत्महत्या भन्दा शंकास्पद मृत्यु देखिएको प्रहरीले जनाएको छ।

Advertisement

घटनाको केही दिनपछि मृतकका आफ्नै पत्नी सुस्मिता सिलवालको हत्या गराउने उद्देश्यले चुडामणिले तीन युवालाई सुपारी दिएको खुलेको छ। उनले मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का अक्कलबहादुर, पृथलाल थिङ (२५), र सञ्चलाल मुक्तान (२७)लाई पत्नीको हत्या गराउन ४ लाख रुपैयाँ दिने सहमति गरेका थिए।

तर, योजनाबद्ध हत्या बारम्बार असफल भएपछि चुडामणिले ती युवाहरूलाई निरन्तर दबाब दिइरहेका थिए। सोही दबाब अन्ततः उनको मृत्युको कारण बन्यो। प्रहरीले पक्राउ परेका तीनै जनाबाट लिएको बयानअनुसार, हत्या सफल नहुँदा आफूहरूलाई दबाब दिने चुडामणिलाई नै अन्ततः घातक नियतसहित हत्या गरिएको थियो।

प्रहरीले वैशाख ३ गते अक्कलबहादुरलाई गजुरी–२ ठुटेपानीबाट तथा वैशाख १६ गते पृथलाल र सञ्चलाललाई मकवानपुरको मनहरी गाउँपालिका–७ बाट पक्राउ गरेको हो। उनीहरूको साथबाट १ लाख रुपैयाँ नगद, मृतकको पैसाबाट खरिद गरिएको भनिएको जुत्ता र कपडा बरामद गरिएको छ।

हाल तीनै जनालाई धादिङ जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यो घटनाले आपराधिक मानसिकताको भयावहता मात्र होइन, पारिवारिक दरार कसरी ज्यान लिने षड्यन्त्रमा परिणत हुन सक्छ भन्ने गम्भीर सन्देश दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article