भद्रपुर । झापाको भद्रपुर नगरपालिका–४ बद्रीगाउँस्थित मकैबारीमा एक पुरुषको सडेगलेको अवस्थामा शव फेला परेको छ । मृतकको परिचय भने खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार बिहान करिब ८ः५० बजे स्थानीयले मकैबारीमा शव देखेपछि महेशपुर प्रहरी चौकीलाई जानकारी दिएका थिए । सूचना पाउँदै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त टोली घटनास्थलमा पुगेको थियो ।

शव निलो रङको हाफ पाइन्ट, कालो भेष्ट लगाएको र बायाँ हातमा घडी लगाइ उत्तानो अवस्थामा फेला परेको हो । मृतकको उमेर अन्दाजी ४० देखि ४५ वर्षको रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार मृतकको मृत्यु ४/५ दिनअघि भइसकेको हुनसक्ने अनुमान गरिएको छ ।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाउने तयारी गरिरहेको जनाएको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
यस्तो घटना पहिलो पटक नभएको भन्दै स्थानीयवासीले क्षेत्रको सुरक्षाप्रति चिन्ता व्यक्त गरेका छन् ।