झापा । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बूले विकराल बन्दै गएको लागूऔषधको जालो तोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलवार जिल्ला प्रहरी कार्यालय झापामा आयोजित पत्रकारसँगको परिचयात्मक कार्यक्रममा बोल्दै एसपी लिम्बूले झापावासीको समन्वयमा लागूऔषध नियन्त्रणका लागि विशेष रणनीति अवलम्बन गर्दै अघि बढ्ने बताएका हुन्।

उनले भने, “झापा जिल्ला लागूऔषधको संवेदनशील क्षेत्र बन्दै गएको छ। यसलाई तोड्न हामी जनताको सहकार्यमा विशेष योजना लिएर अघि बढ्छौं।”

लिम्बूले लागूऔषधसँगै चोरी, अवैध तस्करी, सवारी दुर्घटना, ठगी, ब्लाकमेलिङ र सामाजिक सञ्जालको दुरुपयोगजस्ता अपराधहरूलाई पनि नियन्त्रण गर्ने अभियान सञ्चालन गरिने जानकारी दिए।
मोटरसाइकल चोरी नियन्त्रणका लागि चेकिङका क्रममा ब्लुबुकमा फोटो र चेचिस नम्बर समेत अनिवार्य रूपमा जाँच गर्न निर्देशन दिइएको लिम्बूले बताए।
झापाको शान्ति सुरक्षाका लागि प्रहरी पूर्ण रूपले प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आम नागरिकले प्रहरी युनिटहरूमा सहजै पहुँच पाउने व्यवस्था मिलाइने स्पष्ट पारे। “प्रहरीसम्म पुग्न अब कसैको सहारा लिनुपर्ने छैन,” उनले जोड दिए।