झापा । बिहीबार साँझ नेपालका अधिकांश स्थानहरूमा एकैपटक विद्युत् आपूर्ति अवरुद्ध भएको छ। नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनमा समस्या देखिएपछि देशव्यापी रूपमा लोडसेडिङ भएको हो।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार सबस्टेसनमा समस्या आउँदा झापा सहित धेरै स्थानमा बिजुली आपूर्ति रोकिएको हो। “समस्या के हो भन्ने पहिचान गर्न काम भइरहेको छ, तर समाधानमा केही समय लाग्न सक्छ,” उनले भने।

उनका अनुसार पछिल्लो समय विद्युत् ट्रिपिङको समस्या बढ्दै गएको छ, जसले गर्दा बारम्बार यस्तो अवरोध भइरहेका छन्। प्राधिकरणले समस्या समाधान गरी चाँडै विद्युत् आपूर्ति पुनः सुचारु गर्ने प्रयास गरिरहेको जनाएको छ।