चितवनको शुक्रनगरमा बाबुबाट छोरी र भतिजाको हत्या

चितवन। चितवनको भरतपुर महानगरपालिका–२५, शुक्रनगरमा एक हृदयविदारक घटना घटेको छ। शुक्रबार बिहान लिलाराज गिरीले आफ्नै छोरी र भतिजाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, ४२ वर्षीय लिलाराज गिरीले शुक्रबार बिहान करिब १० बजे आफ्नी ७ वर्षीया छोरी प्रभा गिरी र दाजु दया गिरीका ५ वर्षीय छोरा साजन गिरीलाई धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते दुबै बालबालिकालाई चितवन मेडिकल कलेज, भरतपुर पुर्याइए पनि उपचारका क्रममा दुबैको मृत्यु भएको हो।
हत्या पछि लिलाराज गिरीले आफ्नै घाँटी पनि रेटेका छन्। हाल उनको पनि गम्भीर अवस्थामा सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।