झापा, २०८२ जेठ ५ । झापा जिल्लाको मेचिनगर नगरपालिका वडा नम्बर १४ दुवागढि चौकस्थित चन्द्रगढि–चारआलि सडकखण्डमा हिजो दिउँसो करिब १२:०० बजे सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।

चारआलिबाट चन्द्रगढि तर्फ गइरहेको स १ क १८१ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको प्र.१–०१–००१८प.००७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मेचिनगर–१३ बस्ने ५५ वर्षीय मनप्रसाद लिम्बु गम्भीर घाइते भएका छन्। उनको पिसाव थैलिमा चोट लागेको छ भने उनीसँगै मोटरसाइकलमा सवार उनकी ५२ वर्षीया श्रीमती टीका कुमारी श्रेष्ठ (लिम्बु) को दुवै खुट्टामा चोट लागेको छ। दुवै जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई तत्काल बिर्तामोडस्थित B&C अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी चौकी चारआलिबाट प्रहरी नायव निरीक्षक प्रमोद रेग्मीको कमान्डमा टोली खटिएको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल र टिपर दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा संलग्न टिपर चालक झापा गौरिगञ्ज गाउँपालिका–१ बस्ने २६ वर्षीय विजय सरदार रहेको खुलेको छ। उनलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय धुलाबारी पठाइएको झापा प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।