झापा । “गालीगलौज हुँदै कुटपिट, अनि ज्यान मार्ने प्रयाससम्म…” – ५२ वर्षीया रमिला (परिवर्तित नाम) को कथा यति मार्मिक छ कि उनले सहेर व्यथालाई वर्षौं बोकिन्। विवाहको सुरुका दुई वर्ष खुसीपूर्ण लागे पनि त्यसपछि श्रीमानको व्यवहार फेरिन थाल्यो। मदिरा सेवनपछि सुरु हुने गाली–गलौज, कुटपिटमा परिणत भयो। एक दिन त उनले भान्सामा काम गर्दै गर्दा रोटी बेल्ने बेलनले हानिएर ओठ चिरेको सहनुपर्यो। छिमेकीको पहलमा प्रहरी बोलाइयो, तर पनि उनी हिंसाबाट मुक्त भइनन्।

रमिलाजस्तै, २९ वर्षीया सिर्जना (परिवर्तित नाम) ले पनि वैवाहिक जीवनमा भयावह हिंसा भोगिन्। विवाहको एक महिनामै श्रीमानले अनैतिक सम्बन्ध राख्न थाले र सिर्जनालाई एक्लो कोठामा राखेर हिंसामा पार्न थाले। वैदेशिक रोजगारबाट फर्किएपछि पनि अवस्था सुधार भएन। जब सिर्जनाले सन्तान जन्माउने इच्छा व्यक्त गरिन्, उनी कुटिएर घरनिकाला भइन् र त्यसपछि श्रीमान सम्पर्कविहीन बने।
महिला पुनर्स्थापना केन्द्र (ओरेक) द्वारा संकलित तथ्याङ्क अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा मात्रै कोशी प्रदेशका तीन जिल्ला—उदयपुर, सुनसरी र मोरङमा ८४ वटा महिला हिंसाका घटना दर्ता भएका छन्। तीमध्ये ७१ प्रतिशत घरेलु हिंसा रहेको छ।
यसमध्ये ६४ प्रतिशत हिंसा महिलाका श्रीमानबाट भएको छ। उमेर समूह हेर्दा २६–३५ वर्षका महिलाहरू (३४ प्रतिशत) सबैभन्दा बढी प्रभावित भएका छन्। घरायसी काम गर्ने महिलाहरू (३१ प्रतिशत) र विद्यार्थी (२० प्रतिशत) हिंसाको मुख्य सिकार बनेका छन्।

ओरेकका संयोजक शोभा बजगाईं भन्छिन्, “घरेलु हिंसा पितृसत्तात्मक सोच र शक्ति असमानताबाट जन्मिएको गम्भीर सामाजिक समस्या हो। यसको अन्त्य कुनै एक व्यक्तिको प्रयासबाट सम्भव छैन। स्थानीय तहदेखि नै सचेतना, सुरक्षित वातावरण र व्यवहार परिवर्तनको अभियान सुरु गर्न जरुरी छ।” यो तथ्यले देखाउँछ—महिलाका लागि घर मात्र आश्रय होइन, कहिलेकाहीँ डर र पीडाको केन्द्र पनि बन्न सक्छ।