अर्जुनधारा, जेठ १० । झापा रक्तदाता समाजको अगुवाइमा सञ्चालन भएको अदुवा खोला सरसफाइ अभियान शनिबार पाँचौं सप्ताहमा प्रवेश गरेको छ। विर्तामोड क्षेत्रका युवा स्वयंसेवकहरूले सुरु गरेको यो अभियान प्रत्येक शनिबार बिहान एक घण्टा खोलामा जमेको फोहोर संकलन गरी व्यवस्थापन गरिन्छ।



अभियानका अभियान्ता विष्णु आचार्यका अनुसार खोलाको संरक्षण र सरसफाइलाई दिगो रूपमा अघि बढाउने उद्देश्यले अभियान निरन्तर चलाइएको हो। अभियानमा वडाले समेत गाडी र सरसफाइ सामग्रीको व्यवस्थापन गरेर सहयोग पुर्याउँदै आएको छ।

तर, खोलामा फोहोर फाल्ने बानी अझै नहटेको भन्दै अर्का अभियन्ता रमेश दाहालले गुनासो पोखेका छन्। उनले नगरपालिकालाई यस्तो कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई जरिवाना गर्न आग्रह गरे। साथै, प्रत्येक घरमा डस्टबिन अनिवार्य गरिनुपर्नेमा समेत उनले जोड दिएका छन्।
स्वच्छ खोला, स्वच्छ नगर भन्ने नारासहित अघि बढाइएको यो अभियानले धीरे–धीरे परिवर्तन देखिन थालेको जनाइएको छ।