काठमाडौँ, जेठ १३ । राजधानीको तीनकुनेमा भएको आन्दोलनसँग सम्बन्धित ५० जना प्रतिवादीहरूकाे बयान प्रक्रिया काठमाडौँ जिल्ला अदालतमा सुरू गरिएको छ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा राज्यविरुद्धको कसुरमा अभियोग लागेका प्रतिवादीहरूसँग बयान लिइँदै छ। बयान दिने क्रममा प्रमुख प्रतिवादी दुर्गा प्रसाईँ पनि रहेका छन्।

तीनकुने घटनालाई सरकारले गम्भीर रूपमा लिएको जनाउँदै सरकारी वकिल कार्यालयले राज्यविरुद्धको अपराधमा ती सबै ५० जनामाथि अभियोजन अघि बढाएको हो। उनीहरूकाे थुनछेकसम्बन्धी सुनुवाइ पनि कार्कीको इजलासमै भइरहेको छ।

यसैबीच, भाटभटेनी लुटपाट घटनामा संलग्न ११ जनाको पनि बयान प्रक्रिया सुरू भएको छ। ती प्रतिवादीहरूको बयान र थुनछेकको सुनुवाइ न्यायाधीश पदमराज पाण्डेको इजलासमा भइरहेको हो। उनीहरूलाई सरकारी वकिल कार्यालयले आपराधिक उपद्रव अन्तर्गत अभियोग लगाएको छ।