कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको आरोपमा नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक धामी, उनका चालक हसनबहादुर मल्ल, प्रहरी जवान जितेन्द्रसिंह धामी र हवल्दार मणिदत्त भट्ट छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रमुख तिमिल्सिनाले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। शनिबार राति भन्सार कार्यालयभित्र पसी तिमिल्सिनामाथि कुटपिट गरिएको घटनाको सीसीटीभी फुटेज समेत सार्वजनिक भइसकेको छ।
धामीलाई कञ्चनपुरको झलारीबाट र अन्य तीन जनालाई धनगढीबाट सोमबार बिहान पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। हाल उनीहरू प्रहरी हिरासतमा रहेका छन् र घटनाको थप अनुसन्धान जारी छ।
यसैबीच, धनगढी उपमहानगरपालिकाले निरीक्षक धामीलाई २४ घण्टे स्पष्टीकरण सोध्दै अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाइसकेको छ।