हल्दीबारी, झापा । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा हल्दीबारी गाउँपालिकामा बीमा प्रवर्धन तथा सचेतना अभिवृद्धि सम्बन्धी एक दिवसीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन प्रमुख अतिथि रहनु भएको थियो भने बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोद कुमार पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी निकायका कर्मचारी, अग्रज किसान, सञ्चारकर्मी तथा वित्तीय संस्थाका प्रतिनिधिहरू गरी १०० भन्दा बढी सहभागी रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लिङ्देन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, महेन्द्र प्राधिकरणका प्रमुख पोखरेललगायत वक्ताहरूले बीमाको औचित्य, आवश्यकताको बढ्दो महत्व र यसप्रतिको आकर्षणसँगै देखा पर्ने चुनौती तथा सहजीकरणका उपायहरूबारे आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
बीमा प्राधिकरणका कोशी प्रदेश सहायक निर्देशक सचिन राईले प्राधिकरणका क्रियाकलाप, बीमाको स्वरूप र लाभबारे सहभागीहरूलाई अभिमुखीकरण गराउनु भएको कार्यक्रमको सहजीकरण बीमा प्राधिकरणका सहायक प्रथम मिलन पोखरेलले गर्नुभएको थियो ।

कार्यक्रममा नेपालमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जीव बीमा कम्पनी, ७ वटा लघु बीमा कम्पनी तथा २ वटा पुनर्बीमा कम्पनीका बारेमा जानकारी दिइएको थियो। बीमाबाट प्राप्त हुने फाइदाबारे समेत विस्तृत चर्चा गरिएको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष पोखरेलले सहभागीहरूबाट उठेका प्रश्नहरूको जवाफ दिँदै बीमा सम्बन्धी कुनै पनि समस्या वा जिज्ञासा भएमा नेपाल बीमा प्राधिकरणलाई सिधा जानकारी गराउन आग्रह गर्नुभयो।


