समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

ढडुवा बजारमा सडक दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम सम्पन्न, ६ थान स्पीड ब्रेकर स्थापना

हल्दिबारी, १३ जेठ । हल्दिबारी गाउँपालिका–३ स्थित ढडुवा बजारमा आज एक विशेष कार्यक्रमका बीच सडक दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। ढडुवा बजार व्यवस्थापन समिति उपाध्यक्ष तुलसा आचार्यको अध्यक्षतामा सुरु भएको कार्यक्रममा वडा नं–३ का वडा अध्यक्ष विष्णु प्रसाद ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

Advertisement

Advertisement

कार्यक्रममा वडा सदस्य कर्ण भण्डारी, रातमाटे सामुदायिक वनका अध्यक्ष जनक तामाङ, चौकीविरान सामुदायिक वनका अध्यक्ष अमर मेयाङ्वो, ढडुवा युवा क्लबका अध्यक्ष कुल प्रसाद न्यौपाने, विभिन्न संघसंस्थाका प्रतिनिधि, ट्राफिक प्रहरी, जलथल प्रहरी, रेडक्रसकर्मी तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सडक दुर्घटनाको जोखिम न्यूनिकरण गर्न हुलाकी राजमार्ग अन्तर्गत ढडुवा बजारको पश्चिम, उत्तर र पूर्वतर्फ गरी कुल ६ थान स्पीड ब्रेकर निर्माण गरिएको छ। यी स्पीड ब्रेकर चौकीविरान सामुदायिक वन उपभोक्ता समिति र रातमाटे सामुदायिक वनद्वारा बजार समितिलाई प्रदान गरिएको हो।

जनक तामाङले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्पीड ब्रेकरहरू आज औपचारिक रूपमा स्थापनामा आएको जानकारी दिनुभयो। साथै, उहाँले आगामी दिनहरूमा अझ सशक्त सडक सुरक्षा सचेतना अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा ट्राफिक प्रहरी रामचन्द्र दाहालले ट्राफिक नियमसम्बन्धी अभिमुखिकरण गराउनुका साथै आयोजनाकालागि आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो। प्रमुख अतिथि ओलीले समाजमा सकारात्मक रूपान्तरण ल्याउन सबै सरोकारवाला निकायले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको सञ्चालन तथा सहजीकरण ढडुवा युवा क्लब परिवार र ढडुवा बजार व्यवस्थापन समितिका सचिव अभिषेक खतिवडाले गर्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article