हल्दीबारी, झापा | बैशाख १३ : झापाको हल्दीबारी गाउँपालिकामा आत्महत्याको घटनाहरू बढ्दो क्रममा देखिएको छ। पछिल्लो पटक वडा नं ४ मणिपुरे टोलका ५८ वर्षीय विष्णुलाल पौडेल झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

स्थानीयका अनुसार पौडेल मङ्गलबार साँझ करिब ५:३० बजे घरबाट निस्केर नजिकैको चियाबगानतर्फ घाँस काट्न गएका थिए। साँझ ६:३० बजेतिर उनका छिमेकी चियाबगान पुगेका बेला उनलाई रुखमा झुन्डिएको अवस्थामा फेला पारी प्रहरीलाई खबर गरिएको थियो।
घटनास्थलमा जलथल प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको अनुसन्धान टोली पुगेको थियो। प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
मृतक पौडेलका दुई छोरा र एक छोरी वैदेशिक रोजगारीमा रहेका छन् भने श्रीमती, बुहारी, एक छोरी र नातिनातिना घरमै बसोबास गर्दै आएका छन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ भने आत्महत्याको कारण खुल्न बाँकी रहेको छ।
स्थानियवासीले पछिल्ला दिनमा आत्महत्याका घटना बढ्न थालेकाले सम्बन्धित निकायले मानसिक स्वास्थ्य र परामर्श सेवातर्फ ध्यान दिनुपर्ने बताएका छन्।
