झापा, दमक – २०८२ जेठ १४ गते। झापा जिल्लाको दमक नगरपालिका वडा नं. ३, बेलडाँगी भुटानी शरणार्थी शिविरको सेक्टर D1 स्थित हट नं. १०१ बाट हिजो राति करिब ८:३० बजे लागुऔषध कारोबार भईरहेको सूचना आधारमा प्रहरीले छापा मारेको छ।

प्रहरी चौकी बाघखोरबाट खटिएको टोलीले २९ वर्षीय किरण राईको कोठाबाट भारत बिहार राज्य, पुर्णिया जिल्ला, पुर्णिया सिटी वडा नं. ३४ का ३६ वर्षीय मनिश कुमार गुप्तालाई शंकास्पद अवस्थामा फेला पारेको थियो।

प्रहरीले तलासी गर्दा गुप्ताले लगाएको हल्का कालो खैरो रंगको पाइन्टको बाँया गोजीमा लुकाई राखिएको अवस्थामा प्लास्टिक सहितको ९.६२ ग्राम तथा प्लास्टिक बाहेकको ८ ग्राम खैरो हेरोइन जस्तो देखिने लागुऔषध पदार्थ फेला परेको छ।
प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याएर थप अनुसन्धान गरिरहेको जनाएको छ।