समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भारतमा कोभिडको संक्रमण बढ्दो, २४ घन्टामा ६० भन्दा बढी नयाँ संक्रमित

नयां दिल्ली । भारतमा फेरि एक पटक कोरोना भाइरसको सक्रिय सङ्क्रमणको सङ्ख्या बढ्दै गएको देखिएको छ। पछिल्लो तथ्यांकअनुसार, देशभर सक्रिय सङ्क्रमितको संख्या १,०८३ पुगेको छ, जसमा केरलामा मात्र ४३० जना बिरामी फेला परेका छन्।

Advertisement

मंगलबार कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ५ र हरियाणामा ३ जना नयाँ संक्रमित भेटिएका छन्। गुजरातमा भने १३ जना बिरामी निको भएका छन्। उत्तर–पूर्वी राज्यहरूमा पनि सङ्क्रमण फैलिन थालेको छ। अरुणाचल प्रदेशमा मंगलबार २ जना महिलामा कोरोना पुष्टि भएको छ। तीमध्ये एक जनामा ज्वरो र हल्का खोकी देखिएको छ भने अर्की महिलामा कुनै लक्षण देखिएको छैन।

Advertisement

यही दिन उत्तर प्रदेशको फिरोजाबादमा ७८ वर्षीय एक संक्रमित वृद्धको उपचारको क्रममा मृत्यु भएको छ। राज्यमा नयाँ भेरियन्टबाट भएको यो पहिलो मृत्यु हो। यसबाहेक महाराष्ट्र, राजस्थान, पश्चिम बङ्गाल, कर्नाटक र मध्य प्रदेशमा थप ११ जना बिरामीको मृत्यु भइसकेको छ। हालसम्म कोभिडका कारण देशभर मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी मे २९ र ३० मा बिहार भ्रमणमा जान लागेकाले राज्यको स्वास्थ्य विभाग उच्च सतर्कतामा रहेको छ। भ्रमणका क्रममा प्रधानमन्त्रीको १०० मिटर वरपर रहने सबैको कोरोना परीक्षण गर्न निर्देशन दिइएको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार देशभर कोरोना सङ्क्रमितको संख्या विस्तारै बढ्दै गएको छ। यसैबीच, दक्षिण र पश्चिम भारतबाट क्रमबद्ध गरिएको नयाँ भेरियन्टहरू — एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ — पत्ता लागेका छन्। अन्य क्षेत्रहरूबाट पनि नमुना सङ्कलनको काम भइरहेको छ।

यद्यपि, हाल फेला परेका नयाँ भेरियन्टहरू चिन्ताजनक नदेखिएको बताइएको छ। केसहरू धेरै गम्भीर नरहेको र जनताले अनावश्यक चिन्ता गर्नु नपर्ने स्वास्थ्य अधिकारीहरूको भनाइ छ। विश्व स्वास्थ्य सङ्गठन (WHO) ले पनि यी भेरियन्टलाई “निगरानीमा राखिने” श्रेणीमा राखेको छ। चीनसहित केही एसियाली मुलुकहरूमा यिनै भेरियन्टका केसहरू देखिएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article