हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारीमा गणतन्त्र दिवस भव्य रूपमा सम्पन्न, सांस्कृतिक झल्कोसहित कोणसभा सम्पन्न

हल्दीबारी, १५ जेठ। हल्दीबारी गाउँपालिकामा रहेका पाँच वटा गणतन्त्रवादी राजनीतिक दलहरूको संयुक्त आयोजनामा यस वर्षको गणतन्त्र दिवस भव्य रूपमा मनाइएको छ।

Advertisement

कार्यक्रमको आयोजना वडा नम्बर १ स्थित माछाचोकमा गरिएको थियो। नेपाली कांग्रेस हल्दीबारीका सभापति गङ्गा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य माननीय मोहन टुडु र प्रदेशसभा सदस्य छविलाल चुडालको विशेष उपस्थिति रहेको थियो।

Advertisement

माछाचोकबाट सुरु भएको र्याली गोलधाप बजार हुँदै वडा नम्बर १ कार्यालय पुगेको थियो। र्यालीमा सहभागीहरूले नौमती बाजा बजाएका थिए भने साकेला नृत्यमार्फत सांस्कृतिक झल्को समेत प्रस्तुत गरिएको थियो।

वडा कार्यालयमा दीप प्रज्वलन गरेपछि र्याली पुनः माछाचोक फर्किएर कोणसभामा परिणत भएको थियो। कोणसभामा शुभकामना मन्तव्य राख्ने वक्ताहरूमा सुमन नेम्वाङ, टिका पौडेल, टिका पोखरेल, निराजन दाहाल र सोम पोर्तेल रहेका थिए।

कार्यक्रममा नेकपा माओवादी केन्द्र हल्दीबारीका अध्यक्ष खकेन राजवंशीले स्वागत मन्तव्य दिएका थिए भने नेकपा एमाले हल्दीबारी अध्यक्ष त्रिलोचन सापकोटाले कार्यक्रम सहजीकरण गरेका थिए।

कार्यक्रम समापनपछि सहभागीहरू गाउँपालिका प्राङ्गणमा गएर दीप प्रज्वलन गरेका थिए। कार्यक्रमका अध्यक्ष एवं कांग्रेस सभापति गङ्गा प्रसाईले गणतन्त्र दिवसले जनताको अधिकार र लोकतान्त्रिक मूल्यलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)