हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी: ‘कमल थापालाई ससम्मान फिर्ता नगरिए काठमाडौं भोलिबाट ठप्प पारिन्छ’

काठमाडौं, जेठ १८ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई तत्काल ससम्मानसहित रिहा गर्न सरकारसँग माग गरेका छन्। अन्यथा काठमाडौं उपत्यका भोलिबाट ठप्प पार्ने चेतावनी दिएका छन्।

Advertisement

आज काठमाडौंमा आयोजित प्रदर्शनको क्रममा प्रहरीले निषेधित क्षेत्र तोडेको आरोप लगाउँदै कमल थापासहित चार जनालाई नियन्त्रणमा लिएको हो। नक्शाल र बालुवाटार क्षेत्रमा प्रदर्शनरत राजावादी दलहरूले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यको माग गर्दै आन्दोलन तीव्र पारेका छन्।

Advertisement

कमल थापा पक्राउ परेको केही समयपछि प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, “अब हामी देशभरीबाट साथीभाइहरूलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ।” उनले थपे, “अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्कन्छौं। कहाँ रोक्नुहुन्छ तपाईं?”

लिङ्देनले सरकारलाई चेतावनी दिँदै भने, “कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ।” उनले आफूहरूको आन्दोलनलाई कमजोरी नठान्न पनि आग्रह गरे।

प्रहरीले भने निषेधित क्षेत्र उल्लंघन गर्न खोजेकाले थापा र अन्यलाई नियन्त्रणमा लिएको बताएको छ। राजावादी दलहरू राप्रपा, राप्रपा नेपाल लगायतले  जेठ १५ गतेदेखि काठमाडौंमा निरन्तर प्रदर्शन गर्दै आएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)