समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा गाउँपालिकाबाट जेष्ठ नागरिक र विदुर पुरुषलाई नगदसहित सम्मान

झापा, जेठ २३ – झापा गाउँपालिकाले ८४ वर्षमाथिका जेष्ठ नागरिक र ६० देखि ६८ वर्ष उमेर समूहका विदुर पुरुषहरूलाई नगदसहित सम्मान गरेको छ। पालिकाको नीति तथा कार्यक्रम अन्तर्गत छुट्याइएको बजेटबाट सम्मानस्वरूप प्रति व्यक्ति ६ हजार रुपैयाँ प्रदान गरिएको हो।
झापा गाउँपालिका वडा नं. ६ मा रहेको जेष्ठ नागरिक भवनमा आयोजित कार्यक्रममा २५० जनालाई नगदसहित सम्मान गरिएको थियो। कार्यक्रम झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जु देवी थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियो भने जेष्ठ नागरिक संघ झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा सचिव जय नारायण यादवको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष थपलियाले आगामी वर्षदेखि जेष्ठ नागरिक र विदुर नागरिकलाई जनही ७ हजार ५०० रुपैयाँसम्मको सम्मान प्रदान गरिने जानकारी दिइन्।
कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष नवीन किशोर थापा, वडा नं. ७ का वडाध्यक्ष सखीचन्द्र ठाकुर, वडा नं. ३ का वडाध्यक्ष सुवासलाल गणेश र वडा नं. १ का वडाध्यक्ष राजकुमार यादव लगायतले झापा गाउँपालिकाको विकास निर्माण र जनमुखी कार्यक्रमलाई  निर्वाचित पालिका अध्यक्ष जय नारायण शाहले अगाडि बढाउनुभएको र त्यसलाई  निरन्तरता दिइरहेको जानकारी गराएका थिए।
झापा गाउँपालिकाले शिक्षा, कृषि र सामाजिक सुरक्षामा विभिन्न जनमुखी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का छात्रछात्रालाई साइकल वितरण, कक्षा ११–१२ का विद्यार्थीलाई छात्रवृत्ति, किसानलाई सिँचाइमा ८० प्रतिशत र घरेलु विद्युतमा ५० युनिटसम्म प्रयोग गर्ने झापा बासीको विद्युत मा लाग्ने शुल्क समेत पालिकाले तिरिदिने गरेको  तथा कृषकको मागअनुसार कृषि उपकरण वितरणजस्ता कार्यक्रम निरन्तर सञ्चालनमा छन्। झापा गाउँपालिकाका अधिकांश मुख्य सडकहरू कालोपत्रे भइसकेका छन् भने भने केही महिनाभित्रमा आधारभूत अस्पताल पनि सञ्चालनमा आउने गरी काम भइरहेको देख्न सकिन्छ।
पालिकाले अति विपन्न नागरिकको मृत्युपश्चात काजकिरियाका लागि २० हजार रुपैयाँ सहयोग प्रदान गर्दै आएको छ भने अति विपन्न अपाङ्ग सन्थाल मुस्लिम समुदायका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुग्ने गरी हजार भन्दा बढी परिवारको स्वास्थ्य बीमा समेत गरिदिएको छ।
उक्त सम्मान कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखाकी प्रमुख सन्जु फागोले  गरेकी थिइन्।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article