समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कोशी प्रदेशको ३५ अर्ब ८७ करोडको बजेट सार्वजनिक, स्वास्थ्य र कृषि प्राथमिकतामा

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो चालु वर्षको तुलनामा ६० करोड रुपैयाँले बढी हो। आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले बजेट प्रस्तुत गर्दै समावेशी, समन्यायिक र दिगो विकासलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको जानकारी दिए।

Advertisement

स्वास्थ्यमा व्यापक लगानी

आगामी वर्षका लागि ३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको छ। शैलजा हृदयरोग केन्द्रलाई विशेषज्ञ अस्पतालको रूपमा स्तरोन्नति गर्ने, ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ नामक अभियान सञ्चालन गर्ने, तथा प्रदेशभर मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने योजना बजेटमा समावेश छ।

Advertisement

सरकारी अस्पतालमा १० वर्षभन्दा कम उमेरका बालबालिकाका लागि निःशुल्क उपचार नीति ल्याइएको छ भने विद्यालय नर्सिङ कार्यक्रमलाई निरन्तरता दिइनेछ। औषधि खरिदमा ३ करोड ६१ लाख र ल्याब सुदृढीकरणमा ३ करोड १० लाख रुपैयाँ छुट्याइएको छ। साथै, खोटाङमा ३ करोड रुपैयाँको लागतमा प्रशोधन केन्द्र स्थापना गरिनेछ।

कृषि, उद्योग र सहकारीलाई प्रोत्साहन

कृषि, उद्योग र सहकारी क्षेत्रमा २ अर्ब १८ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ। फलफूल उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि १६ करोड ६५ लाख, कृषि कर्जामा ब्याज अनुदानका लागि १४ करोड र पशुपालन प्रवर्द्धन तथा महामारी नियन्त्रणमा २२ करोड रुपैयाँ छुट्याइएको छ। चक्रिया कोष स्थापनाका लागि २ करोड र चिया सम्मेलनका लागि पनि २ करोड रुपैयाँ विनियोजन गरिएको छ।

पर्यटन विकासका लागि विशेष बजेट

कोशी सरकारले २०८२ साललाई पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरेसँगै पर्यटन प्रवद्र्धनमा १० करोड रुपैयाँ छुट्याइएको छ। पर्यटन, वन तथा वातावरण क्षेत्रका लागि कुल २ अर्ब ९७ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

समावेशी र दिगो विकासको लक्ष्य

बजेटले शिक्षा, सेवा क्षेत्र, भौतिक पूर्वाधार र रोजगारी सिर्जनालाई पनि प्राथमिकता दिएको छ। मन्त्री रानामगरले सबै क्षेत्र र समुदायलाई समेट्ने गरी विकासको सन्तुलन कायम राख्न बजेटले भूमिका खेल्ने विश्वास व्यक्त गरे।

सरकारका अनुसार, आगामी वर्षदेखि स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रलाई मजबुत बनाउँदै सर्वसुलभ सेवा, रोजगारी र दिगो समृद्धिको आधार तयार गरिनेछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article