समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारीमा ३ राजनीतिक दलको संयुक्त ज्ञापनपत्र: बजेटमा सबै वडाको समावेशीकरण र सुकुम्बासी समस्या समाधानको माग

हल्दीबारी, २ असार । हल्दीबारी गाउँपालिकाका प्रमुख तीन राजनीतिक दल — नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) — ले संयुक्तरूपमा गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन्।

Advertisement

चालु आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रियामा सम्पूर्ण वडाहरूको समावेशीकरण, तथा प्राथमिकता प्राप्त विकास निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने मागसहित उक्त ज्ञापनपत्र बुझाइएको हो।

Advertisement

ज्ञापनपत्रमा आधारभूत तथा माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य सेवा, कृषि तथा पशुपालन, खानेपानी तथा सरसफाइ, नदी नियन्त्रण, स्थानीय उद्योग तथा रोजगारी सिर्जना, पूर्वाधार विकास, सामाजिक सशक्तिकरण, सूचना प्रविधि र सार्वजनिक सेवा जस्ता क्षेत्रलाई बजेटमा उच्च प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ।

ज्ञापनपत्र गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली तथा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले संयुक्त रूपमा ग्रहण गरेका थिए।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेस हल्दीबारीका सभापति गंगाप्रसाद प्रसाई र नेकपा (एमाले) अध्यक्ष त्रिलोचन सापकोटाले सम्बोधन गर्दै पालिकाको बजेट सबै पक्षलाई समेट्ने खालको हुनुपर्नेमा जोड दिए। साथै, उनीहरूले पालिकाभित्र रहेका सुकुम्बासीहरूको समस्या चाँडै समाधान गर्न ध्यानाकर्षण गराएका थिए।

ज्ञापनपत्र ग्रहण गर्दै गाउँपालिका अध्यक्ष लिङ्देनले बजेट सीमित (२५ करोड ४८ लाख ३३ हजार रुपैयाँ) रहेको भए पनि प्राथमिकता अनुसार सबै पक्षलाई समेटेर विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, सुकुम्बासी समस्या समाधानलाई पालिकाको विशेष प्राथमिकतामा राखिएको जानकारी समेत दिनुभयो।

कार्यक्रममा नेकपा (एमाले) कोशी प्रदेश सचिवालय सदस्य सोम पोर्तेलसहित तीनवटै दलका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण नेकपा (माओवादी केन्द्र) हल्दीबारीका अध्यक्ष खकेन राजबंशीले गरेका थिए।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article