समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भद्रपुरबाट काठमाडौँसम्म ब्राउन सुगर तस्करी : निजी गाडी प्रयोग गरी ६ जना पक्राउ

भद्रपुर, झापा । झापा जिल्लाको भद्रपुर हुँदै काठमाडौँसम्म निजी गाडी प्रयोग गरेर ब्राउन सुगर तस्करी गर्ने गिरोह सक्रिय रहेको खुलेको छ। पछिल्लो एक महिनाको अवधिमा तीनवटा निजी गाडीबाट करिब ३५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद भएको छ।

Advertisement

बुधवार दिउँसो भद्रपुर नगरपालिका–७ स्थित आनी होटेल रोड अगाडि एक कार चेकजाँच गर्दा चार जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेहरू नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका-१३ का ३१ वर्षीय साजन तामाङ, ३० वर्षीय सजिन लामा, ३३ वर्षीय दीपेश लामा र बेलकोटगढी-११ का २३ वर्षीय राम तामाङ रहेका छन्।

Advertisement

उनीहरूले भारतबाट ब्राउन सुगर खरिद गरी बा.प्र.०१-३-च ०८७७ नम्बरको क्रेटा गाडी चढेर काठमाडौंतर्फ गइरहेका बेला विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर लोककृष्ण दाहाल नेतृत्वको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। गाडीमा गरिएको चेकजाँचमा झोलाभित्र २०० ग्राम ३९० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीको भनाइ छ।

त्यसैगरी केही दिनअघि असार ७ गते पनि भद्रपुर-५ स्थित भन्सार गेट अगाडि कार चेकजाँच गर्दा काठमाडौंका २४ वर्षीय निवेश कुवेर र लमजुङकी २२ वर्षीया नोजिना राना पक्राउ परेका थिए। उनीहरूबाट ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको थियो।

यसअघि वैशाख ३१ गते गौरीगञ्ज गाउँपालिका–३ मा पनि कार र मोटरसाइकल प्रयोग गरी लागुऔषध ओसारपसार गर्ने गिरोह पक्राउ परेको थियो। दमकका भूपेन्द्र राई, भारतका भोला ठाकुर र मोनाजिर आलम पक्राउ परेका थिए। उनीहरूबाट १०० ग्राम ०९० मिलिग्राम ब्राउन सुगर, एउटा कार र भारतीय मोटरसाइकल बरामद गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बू का अनुसार पछिल्लो दुई महिनामै ब्राउन सुगर तस्करीका तीन वटा ठूला घटना घटिसकेका छन्। उनका अनुसार कारोबारमा संलग्नहरू गाडी चढेर भारत सीमा पुग्ने, त्यहाँबाट लागुऔषध किन्नु र त्यसलाई काठमाडौं वा पहाडी जिल्लातर्फ लैजाने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा १,५५८ ग्राम, २०८०/८१ मा २,१७४ ग्राम र चालु आर्थिक वर्ष २०८१/८२ मा आजसम्म २,००५ ग्राम ब्राउन सुगर बरामद भइसकेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article