समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

एनएफपिजेको २८ औँ वार्षिक साधारण सभा सम्पन्न, फोटो पत्रकारहरू विभिन्न विधामा सम्मानित

काठमाडौँ — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २८ औँ वार्षिक साधारण सभा आइतबार काठमाडौँको ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालस्थित सभा हलमा सम्पन्न भएको छ। सभाको प्रमुख आतिथ्य प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले गर्नुभएको थियो।

Advertisement


कार्यक्रममा प्रमुख अतिथि हार्तम्छालीले फोटोग्राफीलाई समाजले सबैभन्दा छिटो र सहज रूपमा बुझ्न सकिने प्रभावकारी माध्यमको रूपमा वर्णन गर्दै यसलाई प्रकृति, प्रविधि र संस्कृतिसँग समायोजन गर्दै अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

Advertisement


सभामा एनएफपिजेका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ ‘सागर’ले स्वागत मन्तव्य राख्नुभयो भने अध्यक्ष प्रदीपराज वन्तले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्नुभयो। अध्यक्ष वन्तले आगामी कार्यकालमा फोटो पत्रकारहरूको सामाजिक सुरक्षा, व्यावसायिक सशक्तिकरण तथा क्षमता विकासलाई प्राथमिकतामा राख्दै संगठनलाई अझ समावेशी, सुदृढ र प्रभावकारी बनाउने लक्ष्य लिएको बताउनुभयो।


महासचिव घनश्याम श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ मा संगठन विस्तार, क्षमता विकास, अन्तर्राष्ट्रिय सहकार्य तथा फोटो पत्रकारहरूको हकहित संरक्षणमा उल्लेखनीय प्रगति भएको जानकारी गराउँदै आगामी दिनमा पेशागत सुरक्षा र डिजिटल क्षमताको अभिवृद्धिमा जोड दिइने उल्लेख गर्नुभयो। कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो, जसलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको छ।


साधारण सभाको अवसरमा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ पाँच विधामा प्रदान गरिएको छ। साहसिक फोटो पत्रकारिता सम्मान नबिनबाबु गुरुङ, पर्यावरण–पर्यटन फोटो पत्रकारिता सम्मान उद्धव श्रेष्ठ, मनोरञ्जन फोटो पत्रकारिता सम्मान सुबास मुखिया सुनुवार, सांस्कृतिक फोटो पत्रकारिता सम्मान चन्द्रकला क्षेत्री तथा खेलकुद फोटो पत्रकारिता सम्मान शंकर भुजेललाई प्रदान गरिएको हो।


त्यसैगरी पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाद्वारा स्थापित ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८२’ फोटो पत्रकार संस्थाका सचिव प्रविन कुलुङ राईलाई प्रदान गरिएको छ भने ‘संस्थागत एनएफपिजे प्रेसिडेन्ट अवार्ड–२०८२’ संस्थाका उपाध्यक्ष सुनिल शर्मालाई प्रदान गरिएको छ।


कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू, केन्द्रीय पदाधिकारी, आजीवन सदस्य तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। एनएफपिजेले सदस्यहरूको सक्रिय सहभागिता, शुभेच्छुकहरूको सहयोग र रचनात्मक सुझावमार्फत संगठनलाई अझ जिम्मेवार, सशक्त र प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article