झापा, मङ्सिर ७: झापा गाउँपालिकाले ‘जन्मदेखि मृत्युपर्यन्त सहायता कार्यक्रम’ अन्तर्गत खरिद गरेको शव वाहन सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
गाउँपालिका क्षेत्रभित्रका नागरिकलाई शोकको घडीमा सहज मानवीय सेवा उपलब्ध गराउने उद्देश्यले शव वाहन सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले विधिवत् पूजाआजा गरी सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो ।
नागरिकलाई जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने आधारभूत तथा मानवीय सेवा सहज रूपमा पुर्याउने प्रतिबद्धता अनुरूप यो सेवा सुरु गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
शव वाहन सेवाको उपयोग, कार्यविधि तथा सम्पर्क नम्बरका बारेमा थप विवरण आवश्यक परे गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न गाउँपालिकाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
