हल्दिबारी (झापा) : हल्दिबारी गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था तथा समग्र गतिविधिबारे जानकारी लिन प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराई र शिक्षा शाखा प्रमुख जनक कुमारी राईको सहभागितामा गरिएको अनुगमनका क्रममा विद्यालयहरूको पठनपाठनको गुणस्तर, शैक्षिक वातावरण, शिक्षक तथा विद्यार्थीको उपस्थिति र भौतिक पूर्वाधारको अवस्थाबारे सूक्ष्म जानकारी लिइएको छ।

निरीक्षण टोलीले विद्यालयको व्यवस्थापकीय पक्ष, अभिलेख व्यवस्थापन तथा समग्र शैक्षिक गतिविधिको समेत मूल्याङ्कन गरेको थियो। सो अवसरमा पठनपाठनलाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन विद्यालय प्रशासन र शिक्षकहरूलाई आवश्यक सुझाव तथा निर्देशन प्रदान गरिएको शिक्षा शाखाले जनाएको छ।

स्थानीय तहबाट नियमित रूपमा गरिने यस्ता अनुगमन तथा मार्गदर्शनले सामुदायिक विद्यालयको शैक्षिक सुधार र सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
